पशुजन्य वस्तुको उत्पादन बढ्दो

इनेप्लिज २०७२ भदौ ६ गते २:३३ मा प्रकाशित

meat-5बाबियाचौर (म्याग्दी), ६ भदौ । यहाँ पशुजन्य उत्पादनमा वृद्धि भएको छ ।

व्यावसायिक पशुपालनतर्फ कृषकको बढ्दो आकर्षण र व्यावसायिक पशु फार्म खुल्ने क्रमसँगै पशुजन्य वस्तुको आयात प्रतिस्थापन हुँदै गएको छ । यहाँ दूध, मासु र अण्डा उत्पादन वृद्धि हुँदै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयका पशु सेवा प्राविधिक डिल्लीराम रेग्मीका अनुसार गत आव २०७१/७२ मा दूध ०.०५, मासु, ०.५०, अण्डा ०.२७, ऊन ३.२१ र छालाको १.२४ प्रतिशतले उत्पादन बढेको छ ।

कार्यालयको तथ्याङ्कअनुसार गत आवमा पाँच हजार दुई सय ६६ मेट्रिक टन दूध, एक हजार आठ सय छ मेट्रिक टन मासु र ३० लाख २९ हजार नौ सय ८० वटा अण्डा उत्पादन भएको छ । व्यावसायिक रुपमा बाख्रा, गाईभैँसी र कुखुरापालन गर्ने क्रमसँगै पशुजन्य उत्पादन बढेको पशु सेवा प्राविधिक रेग्मीले बताउनुभयो ।

म्याग्दीमा हाल ९२ व्यावसायिक गाईभैँसी, एक सय ५९ बाख्रा, ५८ भेडा, ६० संयुक्त भेडाबाख्रा, २३ बङ्गुर र ३५ वटा कुखुरा फार्म सञ्चालनमा छन् । एक लाख १३ हजार ६ सय ४१ को बसोबास रहेको म्याग्दीमा जिल्लाको उत्पादनअनुसार प्रतिव्यक्ति वार्षिक रुपमा दूध १० लिटर र अण्डा २१ वटा कम उपलब्ध रहेको छ ।

मासुको उपलब्धता भने प्रतिव्यक्ति वार्षिक एक किलो बढी उत्पादन भएकाले निकासीको सम्भावना देखिएको छ । एक व्यक्तिलाई उपभोगका लागि वार्षिक ५७ लिटर दूध, १४ किलोग्राम मासु र ४८ गोटा अण्डा आवश्यक पर्ने पशु सेवा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ३८ मासु पसल र २८ डेरी उद्योग रहेको म्याग्दीमा वार्षिक रु १६ करोड ८७ लाख बराबरको मासु र रु छ करोड ७२ लाख मूल्य बराबरको दूधको कारोबार हुने गरेको छ । त्यसैगरी दुई चिज उद्योगले रु ६३ लाख को कारोबार गरेको देखिएको छ ।

प्रतिक्रिया