जोखिम बढाउँदै मालढुङ्गा पहिरो पहिरोले सात घर पुरिए, २५ परिवार विस्थापित

इनेप्लिज २०७२ भदौ ५ गते २:४४ मा प्रकाशित

फलेवास (पर्वत), ५ भदौ । निरन्तर खसिरहेको पहिरोका कारण पर्वतको पाङस्थित मालढुङ्गाको सुकुम्वासी बस्ती उच्च जोखिममा परेको छ ।

पर्वतको कुस्मा नगरपालिका–१ नुवारको डिलबाट झरेको पहिरो बस्तीमा पसेपछि मालढुङ्गामा बस्दै आएका सुकुम्वासीको बस्ती उच्च जोखिममा परेको हो ।

पहिरोले सात वटा घर पुरेको छ भने म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने एक मात्र सडक मालढुङ्गा बेनी सडक समेत पटकपटक अवरुद्ध हुने गरेको छ ।
पहिरो निरन्तर खसिरहेका कारण कुनै दिन ठूलो पहिराले बस्ती नै पुर्न सक्ने स्थानीयवासीको भनाइ छ । पहिरोका कारण स्थानीय २५ घर पूर्णरुपमा विस्थापित बनेका छन् । उनीहरु खुला आकासमुनि जीवन गुजार्न बाध्य छन् । पहिरोका कारण विस्थापित भएका सुकुम्वासीको आफ्नो कुनै जग्गा नभएका कारण अन्यत्र पुनःस्थापना हुन पनि समस्या परेको छ ।

नुवारको डिलमा भूकम्पका कारण चिरा परेको जमिनबाट पानीको मूल निस्केर पहिरो खसेपछि मालढुङ्गा बस्ती उच्च जोखिममा परेको हो । बस्ती उच्च जोखिममा परे पनि स्थानीय प्रशासनले भने कम चासो देखाएको पीडितको गुनासो रहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चूडाराज भट्टराई भन्नुहुन्छ– “बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान औपचारिक आग्रह गरे पनि केही परिवार अझै बस्तीभित्रै छन् ।” “जोखिम हुँदाहुँदै पनि बस्तीका बासिन्दाले अटेर गरेर बस्ती छाड्न नमानेको भट्टराईको भनाइ छ ।” भट्टराई भन्नुहुन्छ “प्रशासनले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्ने प्रयास गरिरहेको छ ।”

साउन ३ गतेदेखि खसिरहेको पहिरो अहिलेसम्म रोकिएको छैन । पहिरो नरोकिएपछि सो स्थानका ६५ घर जोखिममा परेका छन् ।

प्रतिक्रिया