न्यायाधीश बमका हत्यारा मगरलाई साउदी सरकारले नेपालको जिम्मा लगायो

इनेप्लिज २०७२ भदौ ४ गते १३:४६ मा प्रकाशित

Gyanendra_Shah_1साउदीअरब, ४ भदौ । सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न अभियुक्त संजय स्माइली मगरलाई साउदी सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीलाई बुझाएको छ ।

अभियुक्त मगरलाई लिन साउदी आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीलाई बुझाएपछि मगरलाई नेपाल पठाउने आवश्यक प्रक्रिया पुरा भएको छ । साउदी सरकारले मगरलाई नेपाल पठाउन सहमति जनाएपछि उनलाई नेपाल पठाउने तयारी पुरा गरिएको साउदीका लागि नेपाली कार्यबाहक राजदूत आनन्द शर्माले जानकारी दिए ।

नेपाल सरकारको आग्रहलाई स्वीकार गर्दै घटनाको गाम्भीर्यताका आधारमा साउदी सरकारले मगरलाई नेपाल पठाउन तयार भएको कार्यबाहक राजदूत शर्माले बताए । शर्माले भने–‘मगरलाई नेपाल पठाउने बिषयमा टुगो लागिसकेको छ, तर कहिले पठाउने भनेर मिति तय भईसकेको छैन ।’ शर्माका अनुसार मगरलाई यही साताभित्रै पठाउने तयारी भईरहेको छ ।

नेपाल पठाउने गृहकार्यमा आफूहरु लागिरहेकाले जति सक्दो छिटो उनलाई नेपाल पठाईने शर्माले बताए । मगरलाई लिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली गत मंगलबार साउदी अरब आएको हो । बमको हत्यामा संलग्न मगर इन्टरपोलको सहयोगमा गत चैत्र १० गते साउदीमा पक्राउ परेका थिए । यसअघि कानुनी समस्या देखाउदै साउदी सरकारले उनलाई नेपाल पठाउन आनाकानी गरिरहेको थियो ।

सर्वाेच्च अदालतका न्यायाधीश बमको २०६९ साल जेठ १८ गते राजधानीको युन पार्कमा हत्या भएको थियो ।

प्रतिक्रिया