मासुमा आत्मनिर्भर बन्दै इलाम

इनेप्लिज २०७२ भदौ ४ गते १३:३९ मा प्रकाशित

maasuइलाम, ४ भदौ । मासु उत्पादन वृद्धि भएसँगै इलाम मासुमा आत्मनिर्भर बन्न थालेको छ ।

विगतमा बाहिरबाट आयात गरिए पनि मासु उत्पादन वृद्धि हुन थालेपछि आत्मनिर्भर बन्न थालेको हो । अघिल्लो आवको तुलनामा गतवर्ष २.८६ प्रतिशतले मासु उत्पादनमा वृद्धि भएको छ ।

जिल्ला पशुसेवा कार्यालयका अनुसार गत आव २०७१/७२ मा खसीबोका, बङ्गुर, कुखुरा, राँगा, भेडा, हाँस गरी नौ हजार ४८१ मेट्रिक टन मासु उत्पादन भएको छ । अघिल्लो आव २०७०/७१ मा नौ हजार १८२ मेट्रिक टन मासु उत्पादन भएको थियो ।

मासुका लागि ब्रोइलर कुखुरा र राँगा आयात गरिने भए पनि बङ्गुर, बाख्रा, माछापालनमा आकर्षण बढ्न थालेपछि आयात घट्न गई मासुका लागि जिल्ला आत्मनिर्भर बनेको जिल्ला पशुसेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले बताउनुभयो ।

जिल्लामा खसी बोकाबाट चार हजार ४५४ मेट्रिक टन मासु उत्पादन भएको छ । जिल्लाबाट सातामा शनिश्चरे र अन्य बजारमा चार सयदेखि पाँच सय खसीबोका निर्यात हुने पशुसेवा कार्यालयले जनाएको छ ।

बाहिरबाट आउने व्यापारीले राम्रो मूल्य दिने र पैसा पनि एकमुष्ट पाउने भएकाले किसान पछिल्लो समय बाख्रापालनतर्फ आकर्षित भएका छन् । बाख्रा, बङ्गुर, माछापालनका लागि कार्यालयले अनुदानसमेत उपलब्ध गराउँदै आएको छ ।

जिल्लामा वत वर्ष दुई हजार १८४ मेट्रिक टन बङ्गुरको मासु उत्पादन भएको थियो । सूर्याेदय नगरपालिका, गोदक, पशुपतिनगर, साङ्रुम्वा, शान्तिडाँडामा व्यावसायिक बङ्गुरपालन गरिँदै आएको छ ।

आव २०७१÷७२ मा राँगाको दुई हजार ६० मेट्रिक टन, कुखुराको ७८२ मेट्रिक टन, भेडाको ०.५ मेट्रिक टन र हाँसको ०.१ मेट्रिक टन मासु उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

झापाका पोल्ट्रीफार्मबाट मासुका लागि आयात गरिँदै आएको ब्रोइलर कुखुरा अहिले जिल्लामै पाल्न थालेपछि आयात गर्न छाडिएको र यहाँबाट पाँचथर र ताप्लेजुङसम्म निर्यात गर्न थालिएको छ ।

प्रतिक्रिया