वर्षाले अधिकांश घर उच्च जोखिममा

इनेप्लिज २०७२ भदौ ४ गते २:०४ मा प्रकाशित

रुकुम, ४ भदौ । अविरल वर्षासँगै आएको बाढीले जिल्लाको पुर्तिमकाँडा–५ खागलका अधिकांश घर उच्च जोखिममा रहेका छन् ।

बुधबार साँझको अविरल वर्षासँगै आएको बाढीले सिमलचौर, टुमुरेनी, गाउँ क्षेत्रका अधिकांश घर उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । घर माथिबाट पहिरो आउने डरले गाउँटोलका २४ घरपरिवार, टिमुरेनीका १२ घरपरिवार, सिमलचौरका पाँच घरपरिवार सुरक्षित स्थानतिर सरेका छन् ।

त्यस्तै वर्षासँगै गएको पहिरोले त्यहाँ रहेको जनकल्याण माविको रु १० लाख बराबरको क्षति गरेको विद्यालयले जानकारी दिएको छ । बिहीबार साँझ आएको अविरल वर्षाले विद्यालयका दुईवटा बालमैत्रीधारा, खानेपानी ट्याङ्की, खानेपानीको पाइप पूर्णरुपले बगाएको छ भने विद्यालयको खेलमैदान र तारबार पनि भत्किएको प्रधानाध्यापक टेकम बोहराले जानकारी दिनुभयो ।

बर्सातको समयमा माथिबाट ढुङ्गा खस्ने भएकाले विद्यार्थी, सर्वसाधारण तथा शिक्षकलाई आवतजावत गर्न निकै कठिन भएको छ । ढुङ्गा खस्ने डरले बिहीबारदेखि अनिश्चित समयका लागि विद्यालय बन्द गरिएकोे प्रअ बोहराले बताउनुभयो । वर्षाले सिमलचौर, एक्ले सल्ला, सिम, चिउरीखेत लगायतका खेतमा लगाएको अधिकांश धान पुरेको छ भने मकै, तरकारी, सुन्तला, कागती, केरालगायत खेतीबालीमा क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया