‘वा’ राख्दा पनि सहज रुपमा नागरिकता नपाइने चिन्ता

इनेप्लिज २०७२ भदौ ३ गते १४:०६ मा प्रकाशित

nagariktaकाठमाडौँ, ३ भदौ । नागरिकताको प्रावधानमा ‘आमा वा बुवा’ राख्दा पनि सहज ढङ्गले नागरिकता प्राप्त गर्न नसकिनेमा चिन्ता व्यक्त गरिएको छ ।

सञ्चारिका समूहले आज यहाँ आयोजना गरेको ‘आमाको नाममा नागरिकता: अधिकार र चुनौती’ विषयको अन्तक्र्रियामा नागरिकतामा ‘वा’ राख्दा पनि त्यहाँ उल्लेख गरिएका विविध कुराले त्यो पुरुषका लागि मात्र अनुकूल देखिएको बताएका हुन् ।

नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले नेपालमा जन्मिएका सन्तानले नेपाली नागरिकता प्राप्त गर्न बाबु कुरिरहनु नपर्ने धारणा राख्दै नेपाली हुनु ठूलो कुरा हो वंशज वा अङ्गीकृत नागरिकताले फरक पार्दैन भन्नुभयो ।

व्यवस्थापिका–संसद्, अर्थ समितिका सभापति प्रकाश ज्वालाले विभिन्न सर्त राखेर नागरिकता प्राप्त गर्ने प्रक्रियालाई झन्झटिलो बनाउनुभन्दा कुनै विदेशीले नेपाली नागरिकता नपाउन् भन्नेमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

अधिकारकर्मी सपना मल्ल प्रधानले संविधान मस्यौदाको धारा ११ को ५, ६ र ७ मा रहेको नागरिकतासम्बन्धी प्रावधानमा ‘आमा वा बाबु’ राखिएपनि त्यसका लागि बाबुको वंशज पहिचान नभएको अवस्था, एकल महिलाका सन्तान नेपालमा जन्मिएको हुनुपर्नेलगायत सर्त राखेर महिलालाई अपमानित र प्रतिकूल हुने अवस्था सिर्जना गरिएको उल्लेख गर्नु भयो ।

छ पटक परिमार्जन गरिएको मस्यौदामासमेत ‘शब्द’ मात्र परिवर्तन गरी अर्थ उही लाग्ने व्यवस्था राखिएको बताउँदै उहाँले भन्नुभयो, “यसले न त महिलाको अधिकार सुनिश्चित ग¥यो, न त महिलाले स्वतन्त्रतापूर्वक आफ्ना सन्तानलाई आफ्नै नामबाट नागरिकता दिने सुनिश्चित ग¥यो ।”

कार्यक्रममा सभासद् रामनारायण बिंडारी र रेखा शर्मा, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष शशी श्रेष्ठलगायतले सो मस्यौदाले नेपाली महिला र पुरुषबीच विवाह हुँदा पनि श्रीमान् देखाउन नसक्ने महिलाका सन्तानले नागरिकता प्राप्त गर्न नसक्ने अवस्था सिर्जना गर्ने भएकाले यसलाई संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया