मुस्ताङमा यार्तुङ रमझम

इनेप्लिज २०७२ भदौ ३ गते ३:०४ मा प्रकाशित

Mustang_district_locationमुस्ताङ, ३ भदौ । मुस्ताङको उपल्लो क्षेत्रका ६ गाविसमा यार्तुङ पर्वको रमझम सुरु भएको छ । बर्खायामको अन्त भई हिउँद याम सुरु हुने समयलाई रमाइलो तरिकाले तीन दिनसम्म मनाउने पर्वलाई यार्तुङ भनिन्छ ।

तिब्बतीयन भाषामा ‘र्या’ भनेको समर वर्षा ‘तुङ’ भनेको रमाइलो भन्ने हुन्छ । यो पर्व अवधिभर उपल्लो मुस्ताङका लोमान्थाङ, छोेसेर, छोण्हुप, घमी, चर्राङ र सुर्खाङ गाविसका सर्वसाधारणले विभिन्न किसिमका परम्परागत झाँकी, घोडा दौड र मीठो–मीठो परिकार बनाएर खाने परम्परा छ ।

बर्खायाममा पर्ने अविरल वर्षा अन्त्य हुने र रमाइलो दिन आउने भन्दै यसलाई विशेष महत्वका साथ मनाउने गरिएको लोमान्थाङका अगुवा इन्द्रधारा विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक गाविसको गाउँगाउँमा गाउँ मुखियाको नेतृत्वमा यो पर्व मनाउन थालिएको छ । “सबैले आ–आफ्नो तरिकाले मनाइरहेका छन्”, उहाँले भन्नुभयो, “यो पर्वको विशेष सांस्कृतिक महत्व रहेको छ ।” धेरै पहिला यार्तुङ पर्वमा लोमान्थाङमा सबै गाविसका सर्वसाधारण जम्मा भएर घोडा दौड प्रतियोगिता सञ्चालन गर्ने गरिए पनि अहिले भने यो क्रम रोकिएको छ ।

त्यहाँ लोमान्थाङका सर्वसाधारणले मात्रै घोडा दौड प्रतियोगिता सञ्चालन गर्ने बताइएको छ । यार्तुङ पर्वमा नयाँ र राम्रो लुगा लगाउने परम्परा पनि रहिआएको छ । उपल्लो मुस्ताङमा भदौ २ देखि ४ गतेसम्म मनाइने पर्वलाई विभिन्न स्थानमा तीर हान्ने प्रतियोगिता पनि सञ्चालन गरिएको विष्टले जानकारी दिनुभयो । त्यस्तै मुस्ताङको मुक्तिनाथ र जोमसोममा भने जनैपूर्णिमाको दिनदेखि यार्तुङ आयोजना हुने स्थानीयवासीले बताएका छन् । स्थानीय युवा क्लबले आयोजना गर्ने पर्वको तयारीलाई तीव्र पारिएको जनाएको छ ।

प्रतिक्रिया