स्वास्थ्य केन्द्रमै शल्यक्रियासहितको प्रसूति सेवा

इनेप्लिज २०७२ भदौ २ गते ४:३४ मा प्रकाशित

pregnantबागलुङ, २ भदौ । जिल्लाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित शल्यक्रियासहितको प्रसूति सेवाले दुर्गमका महिलालाई ठूलो राहत दिएको छ ।

तीन महिनाअघि सुरु भएको ‘बृहत् आकस्मिक प्रसूति एवम् नवशिशु स्याहार केन्द्र’ ग्रामीण भेगका महिलाका लागि वरदानसरी भएको छ । केन्द्रले दक्ष चिकित्सकसहित गुणस्तरीय प्रसूति सेवा दिन थालेपछि केन्द्रमै आएर प्रसूति हुनेको सङ्ख्या पनि बढेको छ ।

शल्यक्रियासहितको प्रसूति सेवा सुरु भएदेखि यता नौजनाको शल्यक्रिया गरी प्रसूति गराइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सुरुका दुई महिना बेहोस बनाउने स्वास्थ्यकर्मीको अभावमा शल्यक्रिया सेवा रोकिएको थियो । शल्यक्रियाबाहेक पनि जिल्लामै सबैभन्दा बढी प्रसूति गराउने केन्द्र पनि बुर्तिवाङ रहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताउनुभयो ।

गत आवमा मात्र उक्त केन्द्रमा २५९ ले सुरक्षित प्रसूति सेवा लिएका थिए । “ग्रामीण भेगका बासिन्दालाई शल्यक्रियासहितको प्रसूति सेवाले ठूलो टेवा पुगेको छ, शल्यक्रियाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ”, प्रशासक श्रेष्ठले भन्नुभयो । केन्द्रबाट जिल्लाको पश्चिम भेगका १८ गाविस र छिमेकी रुकुम, प्यूठान र गुल्मीका महिलाले सेवा लिने अवसर पाएका छन् ।

“शल्यक्रिया गर्ने विशेषज्ञसहित तीन चिकित्सक, बेहोस बनाउने, नर्स, प्रयोगशालाका प्राविधिक, सहयोगीसहित स्वास्थ्यकर्मी केन्द्रमा हुनुहुन्छ”, प्रशासक श्रेष्ठले भन्नुभयो । उहाँले २४सँै घन्टा केन्द्रमा प्रसूति सेवा उपलब्ध हुने गरेको जानकारी दिनुभयो ।

गत असारमा ६ जनाको शल्यक्रिया गरी शिशु जन्माइएको केन्द्रका चिकित्सक रमेशकुमार यादवले बताउनुभयो । प्रसूतिका बेला आउने जटिलताकै कारण सामान्य रुपमा बच्चा जन्मन नसक्ने अवस्थामा शल्यक्रिया गर्ने गरिएको चिकित्सक यादवको भनाइ छ ।

आफ्नै गाउँनजिक शल्यक्रिया सेवा उपलब्ध भएपछि धेरै महिलालाई ठूलो राहत मिलेको बोवाङकी हरिमाया छन्त्यालले बताउनुभयो । प्रसूतिका बेला आउने जटिलताकै कारण अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

जिल्लाका ३५ स्वास्थ्य संस्थामा प्रसूति केन्द्र सञ्चालनमा छन् । पछिल्ला दुई वर्षमा जिल्लामा प्रसूतिकै कारण हुने महिलाको मृत्युदर पनि शून्यमा झरेको छ । सदरमुकाममा रहेको धवलागिरि अञ्चल अस्पतालले भने वर्षौंअघि देखि शल्यक्रियासहितको प्रसूति सेवा दिँदै आएको छ ।

प्रतिक्रिया