अलैँची बिरुवाबाट लाखौँको आम्दानी

इनेप्लिज २०७२ भदौ १ गते १४:३७ मा प्रकाशित

timthumb.phpताप्लेजुङ, १ भदौ । जग्गा भाडामा लिएर अलैँचीको नर्सरी गरी तयार पारिएको बिरुवाबाट ताप्लेजुङका एक किसानले पहिलो बिक्रीमै रु ११ लाख बढी आम्दानी लिन सफल भएका छन् ।

जिल्लाको तापेथोक गाविसका भिङ्मारे लिम्बूले यसरी नर्सरीबाट पहिलो बिक्रीमा रु ११ लाख ५० हजार आम्दानी गरेका हुन् । तीन वर्षअघि लगाएको बिरुवा यसै वर्षदेखि बिक्री गर्न थाल्नुभएका उहाँलाई अर्को वर्ष यही मूल्यमा बिक्री गर्न सकिए कम्तीमा रु २३ लाख आम्दानी हुनेछ ।

अधिक माग रहेको अलैँचीको बिरुवा कसैले उत्पादन नगरिरहेकै बेला सदरमुकाम फुङ्लिङका राजेन्द्र श्रेष्ठको जग्गा भाडामा लिएर उहाँले नर्सरी व्यवसाय गर्नुभएको थियो । तीन वर्षमा रोप्न हुने बिरुवा अहिले बिक्री गर्न योग्य भएको उहाँको भनाइ छ ।

टेकबहादुर श्रेष्ठको थप जग्गा भाडामा लिएर सारिएको २५ हजार झाङबाट अर्को वर्ष कम्तीमा दुई लाख ५० हजार बिरुवा बिक्री योग्य बन्नेछ । “एउटा झाङले १० देखि १५ वटासम्म टुसा हालिसकेको छ । अबको एक वर्षमा यो हलक्क हुर्कन्छ र बेच्न हुन्छ,” उहाँले भन्नुभयो – “अढाइदेखि तीन फुटको भएपछि बिरुवा बिक्री हुन्छ ।”

यो वर्ष उहाँले प्रतिवटा रु १० का दरले बिक्री गर्नुभएको छ । गाउँबाट आएका किसान र जिल्ला कृषि विकास कार्यालयले बिरुवा खरिद गरेका थिए । अर्को वर्षका लागि पनि किसानले बैना दिइसकेका छन् । मूल्य भने त्यही समयमा सहमतिबाट कायम गरिने छ ।

बिक्री नसकेका बिरुवा उठाउने कृषि विकास कार्यालयले प्रतिबद्धता जनाएको उहाँको भनाइ छ । उहाँले २०७५ सालसम्म लगातार बिक्री गर्ने गरी अलैँचीको नर्सरी तयार गर्नुभएको छ ।

अलैँचीमा रोग किरा लागिरहेका बेला दानाबाट उत्पादित बिरुवालाई किसानले रुचाउने गरेका छन् । यसमा कम आक्रमण गर्ने भएकाले पुरानोको ठाउँमा धमाधम नयाँ बिरुवा लगाइएको हो ।

आफैँले जेटिए पढेका भिङ्मारेका अनुसार अलैँचीको पहिलो नर्सरी १८ देखि २२ महिनामा एक ठाउँबाट अर्को ठाउँमा सार्नुपर्ने हुन्छ । त्यो नर्सरी गरेको २८ देखि ३२ महिनामा वितरण योग्य हुन्छ । त्यसैमा रहेका स–साना बिरुवा अर्को नर्सरीमा सारे १२ महिनामा पूर्ण रुपमा विकसित हुन्छ ।

यसमा सुँगुर, गाईबस्तुको मल र हिउँदमा जोगाउन ढुसीको विषादी प्रयोग गर्नुपर्ने हुन्छ । कार्यालयका अनुसार माग प्रशस्तै भए पनि बिरुवा उत्पादन गर्ने किसान कम भएकाले माग उच्च रहेको छ । वरिष्ठ कृषि विकास अधिकृत बद्री दाहालले वर्षमा पाँच लाखको हाराहारीमा इलामबाट बिरुवा ल्याउने गरेको बताउनुभयो ।

आफ्नै जिल्लामा बिरुवा उत्पादन नभएरै यसरी बाहिरबाट बिरुवा ल्याउनुपरेको कार्यालयले जनाएको छ । यस जिल्लामा अलैँचीखेती धेरै भएकाले बिरुवाको माग बर्सेनि बढ्दै गएको पनि सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया