यसरी बँचायो ‘बी एण्ड सी’ अस्पतालले

इनेप्लिज २०७२ भदौ १ गते १४:२३ मा प्रकाशित

cover story_1विर्तामोड, १ भदौ । प्यारालाइसिस भएर कम्मर पछाडि तिघ्रामा घाउ भइ लामो समयदेखि उपचार विहिन भएर बसेका इटाभट्टा झापाका चन्दन धिमालले आफ्नो उपचार भएपछि सन्तुष्टिको सास फेरेका छन् । गत जेठ १८ मा भारत सिलिगुडीका डा.मोहपाललाई देखाउन पुगेका धिमालको घाउको तत्कालै शल्यक्रिया गरियो । तर, घर फर्किएपछि रोग निको हुन त कता हो कता, झन् पो बल्झियो ।

वर्ष ४० का धिमालले भने, ‘झन् भित्रैदेखि घाउ पाकेर पो आएछ ।’ उनले भारतको सिलगुढीमा गइ उपचार गर्दा पैसा पनि सकिएको र ज्यान पनि झण्डै सकिएकोमा दुःखेसो गरे  । भने, ‘त्यहाँ त साह्रै दुःख पाइयो ।’

अहिले धिमालको उपचार बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा भइरहेको छ । उनको घाउको भर्खरै शल्यक्रिया गरियो । उनले भने, ‘अब बाँच्छु जस्तो लागेको छ । आज नै मलाई डिस्चार्ज गरिँदै छ ।’ बी एण्ड सी अस्पतालका अर्थोपेडिक सर्जन डा. निराजन पराजुली भन्छन्, ‘अप्रेशनबिना सम्भव नहुने यो प्रविधि पूर्वका लागि नौलो हो ।’

कम्मर पछाडिको घाउ भएको भागको मासु निकालेर शरीरको अर्को ठाउँबाट मासु काटी लगेर गरिने यो अप्रेशनलाई ‘फ्ल्याप सर्जरी’ भनिने डा. पराजुलीले जनाए । उनका अनुसार विरामी अन्तिम अवस्थामा आइपुगेका थिए ।

उता, धरमपुर–७ झापाका मनोरथ घिमिरे र फिक्कल इलामका दिनेश राई पनि यतिवेला खुशी देखिएका छन् । नेपालमै नौलो मानिएको ‘म्याग्जिलो फेसियल सर्जरी’ को माध्यमबाट आफ्नो अनुहारको भाँच्चिएको हड्डी ठीक भएकोमा उनीहरु हर्षित देखिएका हुन् ।

बी एण्ड सी अस्पतालकी डा. अर्पिता सिंहद्वारा गरिएको उक्त सर्जरी पूर्वमै पहिलो पटक सम्भव भएको हो । हस्पिटलका मेडिकल डाइरेक्टर उमेशकुमार शर्मा भन्छन्, ‘अस्पताल पूर्णरुपमा सञ्चालनमा आएको साढे ३ महिनाको अवधिमा १ हजार भन्दा बढी सानातिना शल्यक्रिया गरिएका छन् भने सय भन्दा बढी जटिल प्रकृतिका शल्यक्रिया गरिएका छन् ।’ उनले फ्ल्याप सर्जरी, म्याग्जिलो फेसियल सर्जरी, न्यूरो सर्जरी, अर्थोपेडिक सर्जरी लगायत क्यान्सर सम्बन्धी जटिल रोगको उपचार सम्भव भएको बताएका छन् ।

 अस्पतालका प्रबन्ध निर्देशक डा. रामबाबु गिरीका अनुसार बी एण्ड सी अस्पतालमा नेपालमै नभएको नयाँ प्रविधिको उपचारका लागि ‘न्यूरो माइक्रोस्कप पेन्टेरो–९००’ भित्र्याइएकोे छ । जसले उपचार पद्धतिलाई अत्यन्त सहज बनाएको छ । क्यान्सर केयर सुरु गरेपछि केमो पनि दिन थालिएको र त्यसका लागि भारतबाट समेत विरामी आउने गरेको डा. गिरीले जनाए । भर्खरै बिर्तामोडका अन्जेश गिरीको गरिएको टाउकोमा रहेको ट्यूमरको अपरेशन अत्यन्तै जटिल प्रकृतिको रहेको र त्यो  बी एण्ड सी अस्पतालका डाक्टरहरुले गरेको अपरेशनमध्ये अत्यन्तै जटिल रहेको उनले बताए ।

प्रतिक्रिया