तनहुँमा करेन्ट लागेर दुईको मृत्यु, छ घाइते

इनेप्लिज २०७२ भदौ १ गते ४:४० मा प्रकाशित

ElectricalSafety-300x254दमौली, १ भदौ । तनहुँको शुक्ला गण्डकी नगरपालिका–९ अर्चलेमा सोमबार राति ११ बजे विद्युत् हाई भोल्टेजका कारण ट्रान्समिटर पड्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई घरका छ जना घाइते भएका छन् ।

उनीहरु राति सुतिरहेका बेला ट्रान्समिटर पड्केर घरमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३० वर्षीया दुर्गा न्यौपाने र पाँच वर्षीया खुशी न्यौपाने रहेको प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले बताउनुभयो ।

करेन्ट लागेर ३३ वर्षीय निलकण्ठ न्यौपाने र ७५ वर्षीय शालीग्राम न्यौपाने गम्भीर घाइते भएका छन् । उनीहरुको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको जानकारी प्रहरी उपरीक्षक आचार्यले दिनुभयो ।

करेन्ट लागेर सामान्य घाइते भएका सोही ठाउँका ३६ वर्षीया सुकमाया नेपाली, १६ वर्षीय मिलन नेपाली, २० वर्षीया सम्झना नेपाली र १८ वर्षीया फूलमाया नेपालीको सेती गङ्गा सामुदायिक अस्पताल दुलेगौँडामा उपचार भइरहेको छ ।

घटनास्थल पुगेका तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले घटनाबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि दमौली अस्पताल ल्याउने तयारी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया