उपल्लो मुस्ताङका भूकम्पपीडितलाई दोस्रो चरणको राहत वितरण सुरु

इनेप्लिज २०७२ भदौ १ गते ४:१० मा प्रकाशित

Mustang_district_locationमुस्ताङ, १ भदौ । सीमा प्रशासन कार्यालय लोमान्थाङले उपल्लो मुस्ताङका भूकम्पपीडितलाई दोस्रो चरणको राहत वितरण गर्न थालेको छ ।

वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पका कारण उपल्लो मुस्ताङका लोमान्थाङ, छोसेर, छोण्हुप, घमी, छोसेर र सुर्खाङ गाविसमा २९ घर पूर्णरुपमा क्षतिग्रस्त भएको सरकारी तथ्याङ्क छ ।

पहिलो चरणमा पूर्ण क्षति भएका भूकम्पपीडितलाई दोस्रो चरणअन्तर्गत प्रतिघर थप रु आठ हजारका दरले राहत वितरण गर्न थालिएको सीमा प्रशासन कार्यालयका प्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । भूकम्पले घमीमा १५, छोण्हुपमा ११, लोमान्थाङ, छोसेर र सुर्खाङ गाविसमा एक÷एक वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । “अहिलेसम्म ११ परिवारलाई हामीले दोस्रो चरणको थप राहत पनि वितरण गरिसकेका छौँ, अन्यलाई पनि वितरण गर्ने तयारी छ, सीमा प्रमुख ढकालले भन्नुभयो, “राहत वितरणका लागि दुई वटा फोटो चाहिने, त्यो सबैसँग नहुने र फोटो खिच्ने ठाउँ पनि नहुँदा केही ढिला भएको छ ।”

पूर्ण क्षति भएका घरका परिवालाई भूकम्पपीडित परिचय वितरण पनि गर्न लागिएको बताइएको छ । दोस्रो चरणअन्तर्गत रु दुई लाख ३२ हजार थप राहत वितरण हुने सीमा प्रशासन कार्यालयले जनाएको छ । भूकम्पका कारण मुस्ताङमा करिब १५० भन्दा बढी घरमा पूर्णरुपमा क्षति भएको सरकारी तथ्याङ्क छ । ती सबैलाई चरणबद्धरुपमा राहत वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया