सुरक्षित प्रसूति ६० प्रतिशतमा पुर्‍याइने

इनेप्लिज २०७२ भदौ १ गते ४:०५ मा प्रकाशित

newborn-babies-save-our-children-report-2-390x285बागलुङ, १ भदौ । जिल्लामा स्वास्थ्य संस्थामा हुने सुरक्षित प्रसूतिको दरलाई बढाएर सन् २०१५ भित्र ६० प्रतिशतमा पुर्‍याउने लक्ष्य लिइएको छ । हाल सो दर ४८ प्रतिशत रहेकामा लक्ष्य भेटाउन १२ प्रतिशत बढ्नुपर्ने देखिन्छ । बर्सेनि स्वास्थ्य संस्थामा हुने प्रसूतिको दर बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाँच वर्षअघि सुरक्षित मातृत्व कार्यक्रम सुरु हुँदा स्वास्थ्य संस्थामा हुने प्रसूतिको दर २४ प्रतिशत मात्र थियो । मातृशिशु स्वास्थ्यको क्षेत्रमा सञ्चालित कार्यक्रम र अभियानका कारण त्यस्तो प्रगति हासिल भएको हो । स्वास्थ्य संस्थामा प्रसूति हुने क्रम बढेपछि प्रसव पीडाका कारण हुने मातृ मृत्युदर पनि घटेर शून्यमा आएको छ ।

“आउँदो डिसेम्बरसम्म स्वास्थ्य संस्थामा हुने प्रसूतिलाई ६० प्रतिशतमा पुर्‍याउने लक्ष्य छ” वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले भन्नुभयो “अहिले जिल्लाभर ३५ स्वास्थ्यसंस्थामा प्रसूति केन्द्र सञ्चालित छन्, यसलाई पनि बर्सेनि बढाउँदै लगेका छौँ ।” जिल्ला स्वास्थ्य कार्यालयले आगामी केही वर्षभित्र जिल्लाका सबै स्वास्थ्य संस्थामा प्रसूति केन्द्र सञ्चालन गर्ने योजना बनाएको छ ।

गाउँगाउँमा प्रसूति केन्द्र खुलेपछि सुरक्षित प्रसूति सेवा लिनेको सङ्ख्यामा पनि वृद्धि आएको हो । “पछिल्लो दुई वर्ष प्रसूतिका बेला हुने मृत्यु शून्यमा झरेको छ, यसलाई कायम राख्नुपर्ने चुनौती हामीमाझ छ” प्रशासक श्रेष्ठले भन्नुभयो “यसका लागि प्रभावकारी सेवा र पहुँचको विस्तारसँगै जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यक छ ।” अहिले पनि कतिपय महिला नजिकमा प्रसूति केन्द्र नहुँदा घरमै प्रसूति हुन बाध्य छन् ।

चेतना अभावका कारण पनि प्रसूति हुन महिला स्वास्थ्य संस्था पुग्न सकेका छैनन् । स्वास्थ्य संस्थामा हुने प्रसूतिको दरलाई बढाउन सरकारले पनि प्रोत्साहन गर्ने नीति लिएको छ । स्वास्थ्य संस्थामा प्रसूति हुनेलाई प्रोत्साहन भत्ता, यातायात भत्ता, न्यानो झोला जस्ता सुविधा र उपहार दिन थालेपछि आकर्षण पनि बढेको छ ।

गत आवमा सबैभन्दा बढी २५९ प्रसूति बुर्तिवाङ प्राथमिक स्वास्थ्यकेन्द्रले गराएको छ । त्यसपछि गलकोट हटियामा रहेको हटिया उपस्वास्थ्य चौकीमा २०५ प्रसूति भएका छन् ।

स्वास्थ्य संस्थामा हुने प्रसूति बढेसँगै तालिम प्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति हुनेको सङ्ख्या पनि उत्तिकै बढेको छ । आधुनिक उपकरण र सुविधायुक्त प्रसूति केन्द्रमा तालिमप्राप्त स्वास्थ्यकर्मीले प्रसूति सेवा दिइरहेको प्रशासक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रसूति केन्द्र नभएका स्थानमा पनि तालिमप्राप्त स्वास्थ्यकर्मी पुगेर प्रसूति सेवा दिइरहेको उहाँको भनाइ छ । गर्भवती, सुत्केरी र नवजात शिशु स्याहारमा जिल्लालाई ‘उत्कृष्ट’ बनाउन विभिन्न सहयोगी संस्था पनि लागिपरेका छन् ।

‘वान हर्ट वल्र्ड वाइड’ को आर्थिक सहयोगमा नेपाल लोककल्याण सङ्घले जिल्लामा चलाएको पाँचवर्षे मातृ तथा नवजात शिशु स्वास्थ्य परियोजना हालै सकिएको छ ।

प्रतिक्रिया