जनशक्तिको अभावमा कृषि विकास बैंक गौशालाका सेवाग्राही मर्कामा

इनेप्लिज २०७२ भदौ १ गते ४:०१ मा प्रकाशित

महोत्तरी, १ भदौ । जनशक्तिको अभावमा महोत्तरीको गौशालामा रहेको कृषि विकास बैंकमा सेवा लिन आएका सेवाग्राही प्रत्यक्ष मर्कामा परेका छन् ।

गौशाला बजारमा रहेको सो कार्यालयमा १२ जनाको दरबन्दी भए पनि पाँच कर्मचारीले मात्र सेवा दिँदै आइरहेकाले सेवाग्राही सहज र सुलभरुपमा सेवा लिनबाट वञ्चित हुन पुगेका छन् ।

जिल्लाका पश्चिमी क्षेत्रका गौशाला, भरतपुर, औरही, बेलगाछीलगायत क्षेत्रका हजारौँ सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने यस बैंकबाट हाल कुनै एक कामका लागि महिनाँै प्रतिक्षा गर्नुपर्ने बाध्यता रहेको रामनगरका सीताराम भारतीले बताउनुभयो ।

किसानका लागि ऋण उपलब्ध गराउने संस्थाका रुपमा परिचित रहेको यस बैंकले सेवाग्राहीलाई पारदर्शी तवरले सेवा नदिएको भारतीको भनाइ छ । किसानलाई बैंकको एउटा सानो कामका लागि दिनानुदिन कार्यालय धाउन बाध्यता रहेको गुनासो गौशाला–८ का जगदीश गुप्ताले गर्नुभयो ।

न्यून सङ्ख्यामा रहेको कर्मचारीको कारण सेवाग्राहीलाई सुलभरुपमा सेवा दिन नसकेको बैंकका प्रबन्धक राजेन्द्र ठाकुरले स्वीकार गर्नुभयो । आफूले यस सम्बन्धमा बैंकका जनकपुरस्थित क्षेत्रीय कार्यालयमा बारम्बार लिखित एवम् मौखिकरुपमा जानकारी गराउँदासमेत अहिलेसम्म समस्याका लागि कुनै पहल नगरेको प्रबन्धक ठाकुरको भनाइ छ ।

प्रतिक्रिया