‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्री हरेक नेपालीले हेर्न चाहन्छन् : निर्देशक गणेश पाण्डे

इनेप्लिज २०७२ साउन ३२ गते १०:४८ मा प्रकाशित

IMG_4712

डकुमेन्ट्री निकै चर्चित बन्यो नि ? कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

‘भाग्यले बाँचेकाहरु’ नितान्त नयाँ डकुमेन्ट्री हो । साउन १० गते काठमाडौँमा हामीले सार्वजनिक गरेकै दिनदेखि यो डकुमेन्ट्री बारे हामीले निकै नै राम्रो प्रतिक्रिया पायौँ । धेरैले स्याबासी पनि दिनुभयो । नेपालका प्रायः सबै जिल्लामा यो डकुमेन्ट्री प्रदर्शन गर्न तयारी हुँदैछ । भदौ महिनामा मात्रै नेपालका १० वटा भन्दा बढी जिल्लामा प्रदर्शन हुँदैछ ।

अझ प्रवासमा नेपालीहरुले त हामीलाई अति नै राम्रो प्रतिक्रियाहरु दिनुभयो । अस्ट्रेलियाका नेपालीहरुको व्यापक समर्थनपछि निकै नै खुसी मिलेको छ ।

अस्ट्रेलियाको शो भव्य भयो त्यसो भए ?

अष्ट्रेलियाको सिड्नीमा हामीले पहिलो शो गरेका थियौँ । त्यहाँ नेपाली समुदायका प्रायः सबै अगुवाहरु हुनुहुन्थ्यो । एनआरएन आइसीसी सदस्य रमेश पाण्डे र एमएन टिभीका प्रमुख चिरञ्जीवि देवकोटाको संयोजनमा यो डकुमेन्ट्री सिड्नीको काउन्सिल हलमा प्रदर्शन भएको भयो । छोटो सूचनामा पनि धेरै नै नेपाली आइदिनुभयो । उहाँहरुले प्रसंसामात्रै होइन्, अमुल्य सुझाव, प्रतिक्रिया दिनुभयो, त्यसले हामीलाई उत्साह मिलेको छ । सिड्नीको शोका लागि डा. बिनोद श्रेष्ठ, महेन्द्र ओली, ऋषि आचार्य, भिमसेन सापकोटा, महेश मैनाली, सुरज रेग्मी, ऋषि बुढाथोकी,  श्याम पौडेल लगायतका साथीहरुले राम्रो भूमिका खेलिदिनुभयो ।

सिड्नीमा प्रदर्शन गरेको भोलिपल्टै हामीले अगष्ट १० तारिखका दिन मेलबर्नमा शो गरेका थियौँ । त्यहाँ हल हाउसफुल भएको थियो । नेपाली समुदायका अगुवा कृष्ण न्यौपानेजीको संयोजनमा मेलबर्नमा शो भएको थियो । हाम्रो वृत्तचित्र हेर्न नेपाल सरकारका अवैतानिक महावाणिज्यदूत चन्द्र योन्जनदेखि नेपाली समुदायका अगुवाहरुको उपस्थिति थियो । त्यसको भोलिपल्ट पर्थमा गरेका थियौँ । पर्थका सफल व्यवसायी भैरब ढकालजीको सहयोगमा हावा इन्टरटेन्मेन्टसले वृत्तचित्र प्रदर्शनी राखेको थियो । त्यहाँ नेपाली समुदायको राम्रो उपस्थिति थियो । सुमन डल्लाकोटी, रोनाल्ड डल्लाकोटी, दीपक शर्मा, कमल सिलवाल जस्ता साथीहरुको सहयोगले गर्दा पर्थमा पनि शो राम्रै रह्यो । संख्यात्मक भन्दा पनि गुणात्मक रुपमा नेपाली समुदायको भूमिका राम्रो रह्यो । अष्ट्रेलियाको अन्य ठाउँमा पनि यो डकुमेन्ट्री प्रदर्शन हुँदैछ । त्यसका लागि एनआरएन आइसीसी सदस्य रमेश पाण्डेजीलाई हामीले सर्वाधिकार (कपीराइट) दिएका छौँ ।

प्रवासमा नेपालीहरुले के भने ?

प्रवासमा रहेका नेपालीहरुले जसले भूकम्पको प्रत्यक्ष रुपमा अनुभुति गर्न नपाए पनि यो डकुमेन्ट्री हेरेपछि धेरैले आफू प्रत्यक्ष भोगे जस्तो महसुस गरेको प्रतिक्रिया दिएका थिए ।

कसरी बनाउनुभयो ?

भूकम्प गएपछि संचारक्षेत्रबाट केही गरौँ भन्ने सोच आयो । डकुमेन्ट्रीमै आफ्नो सीप भएकाले राम्रो डकुमेन्ट्री बनाउन सकिन्छ भन्ने सोच दिमागमा आयो । त्यसपछि केही दिन रिसर्चको काम गरेँ । र, छायाँकन सुरु ग¥यौँ । सबैभन्दा ठूलो कुरा त मैले राम्रो टिम चयन गरेँ भन्ने लाग्छ । हामीले प्राविधिक रुपमा सम्पूर्ण इफोर्ट लगाएका छौँ । अनुभवी छायाँकार विनोद विष्ट, सम्पादक कुमार शाह, लेखक दीपक कोइराला, निर्मात्री शारदा गैरे, पोष्ट प्रोडक्सनका साथी सन्दीप मल्ल लगायतको राम्रो टिम संयोजनबाट यो डकुमेन्ट्री उत्कृष्ट बनेको भन्ने मलाई लाग्छ । ६ सय मिनेटको भिजुअलबाट हामीले ५५ मिनेटको डकुमेन्ट्री बनायौँ । आफूले बनाएको डकुमेन्ट्री हेर्दा आफैलाई गर्व लाग्छ ।

कहाँ कहाँ प्रदर्शन हुँदैछ ?

नेपालको अलवा अहिले हङकङ, न्युजिल्याण्ड, युरोप, अमेरिकामा यो डकुमेन्ट्री प्रदर्शनका लागि छलफल चलिरहेको छ । नेपालीहरुले हामी कार्यक्रम आयोजना गर्छौँ, तपाईं आउनुस् भन्नुभएको छ तर मैले समय मिलाउन सकेकौ छैन् । बिस्तारै सबै ठाउँमा प्रदर्शन गर्ने तयारी छ । अमेरिकाका दर्शकका लागि हामीले अग्रेजी संस्करण पनि बनाउने तयारी गरेका छौँ ।

Documentary-BHAGYALE-BAACHEKAHARU-Miracle-Survivals-in-Nepal-Earthquake

प्रतिक्रिया