बयालिस वटा साना सिँचाइ आयोजना निर्माण

इनेप्लिज २०७२ साउन ३२ गते ४:१५ मा प्रकाशित

प्यूठान, ३२ साउन । जिल्लामा पछिल्लो एक वर्षमा ४२ वटा साना सिँचाइ आयोजना निर्माण भएका छन् ।

जिल्ला कृषि विकास कार्यालय तथा विभिन्न दातृ निकायको सहयोगमा सञ्चालित परियोजनामार्फत जिल्लामा ४२ वटा साना सिँचाइ आयोजना निर्माण भएको जिल्ला कृषि विकास कार्यालय प्यूठानले जनाएको छ ।

स्थानीय कृषकको मागमा आधारित सिँचाइ आयोजनामा रु एक लाख ५० हजारसम्मको आर्थिक अनुदान तथा केही प्राविधिक सहयोगमा पनि सिँचाइ आयोजना निर्माण गरिएको कार्यालयका योजना अधिकृत उमेश श्रेष्ठले बताउनुभयो ।

जिल्लामा एक वर्षको अवधिमा कार्यालयले मात्रै साना सिँचाइ आयोजनामा रु ३१ लाख ५० हजार कृषक समूहलाई अनुदान दिएको छ । कृषक समूहले गाउँघरमा सिँचाइ कुलोको अभावमा तरकारीखेती तथा व्यावसायिक कृषि उत्पादन गर्न नपाएको साना सिँचाइ आयोजना निर्माण भए पछि राहत महसुस गरेको धर्मावतीका कृषक पवित्रा जिसीले बताउनुभयो ।

गाउँमा व्यावसायिक तरकारीखेती गर्नका लागि पानीका स्रोत भए पनि खेतबारीसम्ममा पानी लैजान समस्या भएका साना सिँचाइ आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको कृषकले बताएका छन् । कृषि कार्यालयको अनुदानबाहेक कृषकले आफ्नो १५ प्रतिशतसम्म लगानी गर्ने गरी सिँचाइ आयोजना निर्माण गर्ने गरेका छन् ।
जिल्लामा पछिल्लो एक वर्षमा सबैभन्दा धेरै मरन्ठाना, बाँदिकोट र धर्मावतीमा सिँचाइ आयोजना निर्माण भएका छन् । त्यस्तै कार्यालयले बिजुवार, बिजुलीलगायतका क्षेत्रमा पनि सिँचाइ अयोजना निर्माण गरेको वरिष्ठ कृषि विकास अधिकृत शिवनारायण चौधरीले बताउनुभयो ।
त्यस्तै कार्यालयले जिल्लामा पछिल्लो एक वर्षमा सिँचाइ सुविधा विस्तारका लागि १५ वटा प्लास्टिक पोखरी निर्माण गरेको छ । प्रत्येक पोखरीमा रु ३० हजारका दरले आर्थिक अनुदान दिई बिजुवार, रम्दी, दाखाक्वाडी, तुषारा, ओखरकोटलगायतका क्षेत्रमा प्लास्टिक पोखरी निर्माण गरिएको अधिकृत चौधरीले बताउनुभयो ।

कार्यालयले केन्द्रीय कार्यक्रमबाट प्राप्त भएको खाद्य तथा पोषण सुरक्षा कार्यक्रममार्फत पनि १४ वटा सिँचाइ आयोजना निर्माण गरेको छ । यी आयोजना निर्माणका लागि रु १३ लाख ५० हजारको अनुदान दिइएको छ ।

प्रतिक्रिया