धनुषाको चर्चित सबैला घटनाका आरोपित गुप्तालाई हिरासत

इनेप्लिज २०७२ साउन ३१ गते १५:१८ मा प्रकाशित

जनकपुरधाम, ३१ साउन । धनुषाको सबैला नगरपालिकामा विगत चार महिनापूर्व भएको हत्या घटनाका एक अर्का आरोपितलाई अदालतले पुर्पक्षका लागि हिरासतमा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत धनुषाले आइतबार घटनामा पक्राउ परेका राजु गुप्तालाई पुर्पक्षका लागि हिरासतमा राख्न आदेश दिएको छ । जिल्ला अदालत धनुषाका ६ नं इजलासका न्यायाधीश नारायणप्रसाद पराजुलीको इजलासले गुप्तालाई पुर्पक्षका लागि हिरासतमा राख्न आदेश दिएको हो ।

अदालती बन्दोबस्त महलको ११८ (२) बमोजिम अदालतले यस्तो आदेस सुनाएको छ । मुद्दामा सरकारी वकिल पुण्यप्रसाद पाठकका साथै वादीकातर्फबाट केशवप्रसाद यादव, धर्मेन्द्र शर्मा, राजनप्रसाद दाहाल, मुकेशकुमार कार्की र विजयकुमार ठाकुरले बहस गरेका थिए ।

यसैगरी, प्रतिवादी गुप्ताका तर्फबाट दीपेन्द्रकुमार साह, श्यामकुमार मिश्र, देवेन्द्र ठाकुर, श्रीप्रसाद साह, मुकेश यादव र दीपककुमार प्रसैलाले बहस गरेका थिए ।

करिब चार महिनापूर्व सबैलास्थित मदनआश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समिति चयन गर्ने सम्बन्धमा बैठक गरिरहेका बेला अर्को पक्षले आक्रमण गर्दा रामसागर राउत गडेरीको मृत्यु भएको थियो ।

राउतकी श्रीमती सिकीदेवी गडेरी र भाइ गुलजार राउतले किटानी जाहेरी दर्ता गराएका थिए । फरार रहेका गुप्तालाई सबैलाका स्थानीयवासीले साउन २६ गते जनकपुरको कदम चोकबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएका थिए ।

गडेरी हत्या घटनामा अदालतले गुप्तासहित चारजना आरोपीलाई पुर्पक्षका लागि हिरासतमा राख्ने आदेश सुनाइसकेको छ । गुप्तासहित गडेरी हत्याको घटनामा अदालतले घटनाका मुख्य योजनाकार भनिएका एमाले नेता योगनारायण यादवका भाइ महेन्द्र यादव, महेश यादव र लालविहारी यादवलाई पुर्पक्षका लागि हिरासतमा राख्ने आदेश दिएको थियो भने सोही घटनामा पक्राउ परेका लक्ष्मीनारायण यादवलाई रु ३५ हजार धरौटीमा रिहा गर्ने आदेश सुनाएको थियो ।

गडेरी हत्या भएकै राति स्थानीय रामप्रसाद यादवलाई गोली प्रहार गरी हत्या गरिएको थियो । यादव हत्याका आरोपी स्थानीय भगवान्बाबु साह कलबारलाई अदालतले यही साउन २७ गते पुर्पक्षका लागि हिरासतमा राख्न आदेश सुनाएको थियो ।

आज मुद्दाको बहस चलिरहँदा अदालत परिसर बाहिर एमाले कार्यकर्ताले चर्को नाराबाजी गरेका थिए । गुप्ता निर्दोष रहेको भन्दै एमाले कार्यकर्ताले उनलाई रिहा गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

अदालत परिसरमै सञ्चारकर्मीसँग कुरा गर्दै गुप्ताले आपूm निर्दोष रहेको दाबी गरेका छन् । राजनीतिक प्रतिशोधका कारण आपूmलाई उक्त घटनामा फसाइएको गुप्ताले बताए ।

अदालतको आदेशपछि दुई श्रीमती र पाँचजना सन्तान समस्यामा परेको, घटना भएको दिन आपूm सबैलामा नरहेको दुखेसो पोख्दै र सञ्चारकर्मीसमक्ष रुँदै गुप्ताले आफू दोषी भए फाँसीको सजाय भोग्नसमेत तयार रहेको बताए ।

प्रतिक्रिया