बन्दका क्रममा दिनभर विराटनगर तनावग्रस्त, तीन पक्राउ

इनेप्लिज २०७२ साउन ३१ गते १५:०० मा प्रकाशित

विराटनगर, ३१ साउन । सीमाङ्कनको विरोधमा ३३ दलीय मोर्चाका साथै थारु सङ्घर्ष समितिको बन्दका कारण आज विराटनगरको जनजीवन दिनभर तनावग्रस्त रह्यो ।

बन्दका क्रममा बिहानैदेखि बन्दकर्ताले विराटनगरका विभिन्न ठाउँमा अतिआवश्यक सवारीसाधनबाहेकका सवारीमा मोटरसाइकल पनि गुड्न नदिनु, गाडीको साँचो खोस्नु, तोडफोड, आगजनीजस्ता घटनामा उत्रिएपछि जनजीवन तनावग्रस्त बनेको थियो ।

विराटनगरका विभिन्न ठाउँमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । मेनरोडस्थित बुधहाट चोकमा सिआरभी घोघापुलको ना१झ ८६२ नम्बरको गाडीमा ढुङ्गा प्रहार गरी सिसा फुटाएका थिए सोही समयमा प्रहरीले लाठी प्रहार गर्दा तमलोपाका कार्यकर्ता घाइते भएका छन् भने आक्रोसित आन्दोलनकारीले प्रहरीको भ्यानमा ढुङ्गा प्रहार गरेका थिए ।

यसैबीच बन्दकर्ताले विराटनगर–१६ स्थित नहर छेउको शुक्रबारे हाटमा विराटनगर–२१ बस्ने गजराज साह सवार, को१९प ८१५५ नम्बरको मोटरसाइकलमा आगो लगाइदिएका थिए । आगजनी गरेर बन्दकर्ता फरार भएपछि साहले लगत्तै नजिकको नहरमा खसालेर मोटरसाइकलको आगो निभाउन सफल भएका थिए ।

बन्दकर्ताले सोही ठाउँमा जोगवनीबाट आउँदै गरेकी सुनसरीको इनरुवा बस्ने सीता घिमिरे सवार रहेको को१७प २२८७ नम्बरको स्कुटी तोडफोड गरेका छन् । बन्दकर्ताले नगरक्षेत्रका अन्य विभिन्न ठाउँमा दर्जनौँ मोटरसाइकलको साँचो नियन्त्रणमा लिएका छन् ।

यस सम्बन्धमा सङ्घीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरी सात÷आठजना कार्यकर्तालाई गम्भीर रुपमा कुटपिट गरेको बताउनुभयो ।

जबर्जस्ती बन्द गराउन खोजेकाले सङ्घीय समाजवादी फोरम नेपालका विद्यार्थी नेता महेश यादव, तमलोपाका गाविस इकाइ सदस्य शिवनारायण राय र तराई–मधेस राष्ट्रिय अभियानका स्थानीय नेता अञ्जन मिश्रलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

प्रतिक्रिया