दाङलाई राजधानी बनाउन सभासद् एकमत

इनेप्लिज २०७२ साउन ३१ गते ६:०८ मा प्रकाशित

Dang_district_locationतुलसीपुर (दाङ), ३१ साउन । एकीकृत राप्ती र प्रदेश नं ५ को राजधानी दाङ बनाउन राप्ती अञ्चलका ३० जना सभासद्हरु एकमत भएका छन् । उनीहरुले सल्यान र रुकुमलाई प्रदेश नं ५ मै राख्नुपर्ने र प्रादेशिक राजधानी दाङ बनाउनुपर्नेमा ऐक्यबद्धता जनाउँदै शीर्षस्थ नेतृत्वसँग लबिङ गर्ने प्रतिबद्धता जनाएका छन् ।

दाङलाई प्रदेश नं ५ को राजधानी कायम गराउनका लागि पहल गर्न दाङमा गठन गरिएको सरोकार समितिले शनिबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश सभासद्हरुले राप्तीलाई कुनै हालतमा टुक्राउन नहुने बताएको टोलीमा जानुभएका पत्रकार महासङ्घ, दाङका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो ।

अध्यक्ष गौतमका अनुसार राप्तीलाई प्रदेश नं ५ मै राख्न सके प्रदेश नं ५ को केन्द्रबिन्दु दाङ बन्ने सभासद्हरुको भनाइ थियो । सीमाङ्कन सञ्चाउन सकेमात्र प्रदेश नं ५ को राजधानी दाङ बनाउन सकिने बताइएको छ ।

राप्तीका सभासद्हरुले आफ्ना शीर्ष नेतृत्वसँग समन्वय गरेर सीमाङ्कन सञ्चाउने प्रतिबद्धता जनाएका छन् । अधिकांश सभासद्ले सामाजिक, सांस्कृतिक, आर्थिक र पारिवारिकलगायत सबै कारणले राप्ती टुक्र्याउन नहुने उनीहरुको धारणा थियो ।

कार्यक्रममा सभासद् नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सल्यान र रुकुमलाई प्रदेश नं ५ मै पार्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । “सीमाङ्कन सञ्चाउने काम तुरुन्तै गर्नुपर्ने भएको छ, यसतर्फ मैले पार्टीको ध्यानाकर्षण गराएको छु ।” दाङ औद्योगिक र व्यापारिक केन्द्र भएकाले प्रादेशिक राजधानी दाङ बनाउन उपयुक्त हुने उहाँको सुझाव थियो ।

सभासद् एवम् एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष कृष्णबहादुर महराले करिब ९५ प्रतिशत नेताहरु राप्तीलाई टुक्र्याउन नहुने र प्रादेशिक राजधानी दाङ नै हुनेमा सहमति भएको जानकारी दिनुभयो । “शीर्ष नेतृत्वबाट सकारात्मक जवाफ आएको छ, सीमाङ्कन सच्चिने छ” उहाँले भन्नुभयो ।

नेपाली काँग्रेसका सभासद् दीपक गिरीले राप्तीलाई एक बनाइने बताउनुभयो । “राप्ती एक हुन्छ, प्रदेश ५ को राजधानी दाङ नै हुन्छ” – उहाँले भन्नुभयो ।

प्रतिक्रिया