मुक्तिनाथ जाने पाण्डाखोलामा पुल नहुँदा भक्तजनलाई समस्या

इनेप्लिज २०७२ साउन ३१ गते ६:०६ मा प्रकाशित

Mustang_district_locationमुस्ताङ, ३१ साउन । हिमाली जिल्ला मुस्ताङको जोमसोम र कागबेनी गाविसको बीचमा पर्ने पाण्डाखोलामा झोलुङे पुल नहुँदा मुक्तिनाथ दर्शनका लागि जाने भक्तजन र यात्रुलाई समस्या भएको छ । असार पहिलो साता खोलामा आएको बाढीले झोलुङे पुल बगाएपछि मुक्तिनाथ दर्शन र कागबेनीमा स्नानका लागि विभिन्न देशबाट आएका भक्तजन जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।

कागबेनी, मुक्तिनाथलगायत उपल्लो मुस्ताङका सर्वसाधारण घुमाउरो बाटो हुँदै यात्रा गर्ने भए पनि भक्तजन उक्त बाटो यात्रा गर्न नसक्ने हुँदा खोलाको बीचमा झुण्ड्याईएको डोरीका भरमा आवतजावत गर्न बाध्य भएको स्थानीय गणेश शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार, दैनिक दुई सयभन्दा बढी भक्तजन तथा यात्रु यसरी नै जोखिम मोलेर यात्रा गर्न बाध्य भइरहेका छन् ।

“बाढीले पुल बगाएपछि अहिलेसम्म कसैले यहाँको वास्ता गरेका छैनन्, जिविसबाट समेत कोही आएका छैनन्” – उहाँले भन्नुभयो । हिन्दू र बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिने मुक्तिनाथमा यतिबेला दर्शन गर्न जाने आन्तरिक तथा बाह्य भक्तजनको चाप पनि बढ्दै गएकाले तत्काल पुल मर्मत गर्न स्थानीयको माग रहेको छ । उनीहरुले गाविसमा समेत यसबारेमा जानकारी गराए पनि बजेट अभावका कारण मर्मतको काम अघि बढ्न नसकेको बताइएको छ ।

प्रतिक्रिया