४० एम्बुलेन्स, ८ वटा बस र ४५ शैक्षिक संस्थालाई पुस्तक प्रदान

इनेप्लिज २०७२ साउन ३० गते ४:३० मा प्रकाशित

काठमाडौँ, ३० साउन । भारतले आफ्नो ६९ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालका परोपकारी संस्थालाई ४० वटा एम्बुलेन्स, आठ वटा बस र ४५ वटा शैक्षिक प्रतिष्ठानलाई उपहारस्वरुप पुस्तक प्रदान गरेको छ ।

यहाँस्थित भारतीय राजदूतावासमा आज आयोजित विशेष समारोहमा नेपालका लागि भारतका राजदूत रणजीत रायले ३३ जिल्लामा सक्रिय ती संस्थाका प्रमुखलाई एम्बुलेन्स र बस तथा दुर्गम भेगका ४५ शैक्षिक प्रतिष्ठानलाई पुस्तकालय सञ्चालनका निम्ति पुस्तक प्रदान गर्नुभयो ।

सोही समारोहमा उहाँले नेपालमा बसोबास गर्दै आएका भारतीय सेनाका पूर्व कर्मचारीका २० विधवा र तिनका आश्रितलाई रु दुई करोड ५३ लाख सहायता रकम पनि हस्तान्तरण गर्नुभयो ।

त्यसअघि उहाँले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति प्रणव मुखर्जीले जारी गर्नुभएको सन्देश वाचन गर्नुभएको थियो ।

सन्देशमा भारतीय राष्ट्रपतिले शान्ति, स्थायित्व र छिमेकको विकासलाई जोड दिनुभएको छ ।

समारोहमा कामको सिलसिलामा यहाँ रहेका भारतीय नागरिक, दूतावास कर्मचारीका परिवारजन र भारतका नेपालीमित्रलगायत हजारौँको उपस्थिति थियो ।

प्रतिक्रिया