संविधानसभाले होईन, शिर्ष नेता र आसेपासेको आयोगले संविधान बनाउँदै छ

इनेप्लिज २०७२ साउन २९ गते १३:४३ मा प्रकाशित

IMG_1187-225x300नेपाली काग्रेसका नेता शेखर कोइराला पार्टीभित्रका स्पष्ट वक्ता नेताको रुपमा परिचिति हुनु हुन्छ । आफूलाई चित्त नबुझेको विषयलाई स्पष्टसँग खुलस्त राख्न सक्ने कोइराला पछिल्लो समयमा भईरहेको संविधान लेखन प्रक्रियाप्रति पूर्ण रुपमा असन्तुष्ट हुनु हुन्छ । उहाँ प्रक्रिया पुर्याएर पूर्ण छलफल गरेर संविधान जारी गर्न सके मात्रै त्यसले मुलुकमा द्धन्दको अन्त्य गरेर दिर्घकालिन स्थायी शान्ति कायम गर्न सक्छ भन्ने विश्वास गर्नु हुन्छ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधान लेखनको विषयमा उहाँसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानी

विद्येयक लेखन प्रक्रिया अगाडि बढ्छ ?
बढाउनै पर्छ , संविधानसभाले विद्येयक लेखको म्याण्डेड दिएको छ । मैले सुरु देखि भनेको छु । संविधान लेखन प्रक्रियाहरुलाई जसरी छोट्याईएको छ । संविधानसभाको नियमहरु निलम्बन गरेर संविधान बनाउँदैछन । संबाद समितिका सभापति डा. बाबुराम भट्टराईले रोष्टममै उभिएर भन्नु भयो यो संविधान उट जस्तो बन्दैछ त्यसबाट हामीले बुझ्नु पर्छ कि हामी कस्तो संविधान बनाउँदैछौ ।

तपाईहरुले राम्रो र हाम्रो संविधान होईन, एकथान खोस्टो संविधान दिदै हुनु हुन्छ ?
मैले के भनिरहेको छु भने सभासदहरुलाई दोष दिने ठाँउ नै छैन । यो संविधानसभाले संविधान बनाएकै होईन । यो आयोगले बनाएको संविधान हो । चार जना शिर्ष नेता र उहाँका चार पाँच जना सहयोगको आयोग बनेको छ । त्यो आयोगले जे भनेको छ त्यसमा हामीले हुन्छ हुँदैन भनेर पास मात्रै गरेका छौ । अर्को कुरा अहिलेसम्म हामीले धार वाईज छलफल गरेका छैनौ । तीन चार दिनमा धारावाईज छलफल हुने कार्यतालिका छ अब भन्नुस २९७ धारा तीन दिनमा छलफल गरेर सकिन्छ कि सकिदैन ? तेस्रो कुरा संविधानसभाको नियमावलीलाई नियमको धारा उपधाराहरु एक चोटी पनि प्रयोग नगरी निलम्बन गरेर हामी संविधान बनाउन गईरहेका छौ । मलाई दुख कहाँ लागिरहेको छ भने हाम्रा विद्धान जो संविधान बादका कुरा गर्नु हुन्छ, जो ठूला ठूला गोष्ठिहरु गर्नु हुन्छ उहाँहरुबाट कतै पनि यस्ता विषयहरुमा लेखहरु देखिदैन । कतै सञ्चारमाध्यमहरुमा उहाँहरुले बोल्ने प्रयास गर्न सक्नु भएको छैन ।

तपाईहरुले बढाएको संविधान लेखन प्रक्रियमा कसैको पनि चित्त बुझ्न सकेको छैन, थरुहट बन्दछ, मधेस आन्दोलित छ, कर्णाली असान्त छ, मध्यपश्चिम बन्द छ ?
हो, यो संविधान संविधानसभाले नबनाई आयोगले बनाईरहेको छ । आयोगले बनाएको संविधान राजनीतिक संबाद समितिका सभापति डा. बाबुराम भट्टराईजीले आफैले उट जस्तो संविधान बन्यो भनिसक्नु भएको छ । मैले यो कुुरा भनिरहेको छैन ।

त्यसो भए तपाईहरु किन छिटो संविधान जारी गर्न खोज्नु भएको छ ?
मलाई नभन्नुस । मैले त भनिसके नि म त सभासदको हैसियतले हामीहरुको कुनै रोल छैन ।

त्यसो भए सभासदहरुको कुनै भूमिका छैन ?
छैन, झुठा रुपमा सभासदहरुको भूमिका छ भनेर भनिन्छ तर बास्तविकतामा सभासदहरुको कुनै भूमिका छैन । त्यसैले मैले यो संविधानसभाको विशेष समितिलाई आयोगको नाम दिएको हो । म नेपाली काग्रेसको सभासद तपाईहरुले छ वटा प्रदेश बनाउनु भयो नेपाली काग्रेसका मधेसीहरुलाई चित्त बुझेको छैन । शिर्ष नेताहरुले उनीहरुसँग कुरा गर्नु पर्यो नि । थारुहरुलाई चित्त बुझेको छैन, जनजाती, दलितलाई चित्त बुझेको छैन । कम्तिमा आफ्नोपार्टीकालाई त चित्त बुझाउनु पर्यो ।

तपाई पनि त नेतृत्वमा हुनु हुन्छ नि तपाईले त्यो गर्न सक्नु पर्लानि ?
तपाईलाई लाग्ला म नेतृत्वमा छु । संविधानसभामा म सभासद मात्र हु । नेपाली काग्रेसको कार्यकर्ता र साथीहरुको नजरमा म साथी हु, शिर्ष नेताको पंक्तिमा छैन । त्यसैले ६०१ मा शिर्ष नेताहरुबाहेक अरुलाई दोष दिनु पर्ने आवश्यकता छैन ।

प्रधानमन्त्रीले आन्दोलन रोक्न र उपलब्धि गुम्न नदिन आग्रह गरिरहनु भएको छ ?
हामी पनि भन्छौ, आन्दोलन रोकिनु पर्छ । आन्दोलनले कुनै समाधान ल्याउँदैन भनेर म पनि भन्दैछु । म पनि यो कुरा बुझ्छु । म पनि देशको नागरिक हु । तर आफनै पार्टीका काग्रेसमात्रै होईन, एमाले एमाओवादी, फोरम लोकतान्त्रिक सबै दल, हेर्नुस विजय गच्छदारले थारुहरुलाई सम्झाउन सक्नु भएन । आफ्नो पार्टीको मधेसीहरुलाई सम्झाउन सक्नु भएको छैन । प्रचण्ड, बाबुराम र नारायणकाजी एक्लो भईसक्नु भयो, नेपाली काग्रेसका शिर्ष नेताहरु एक्लोभईसक्नु भयो ।

तपाईहरु त जनता मुखी भन्दा नेता मुखी हुनु हुन्छ नि ?
ऋषिजी म नेता मुखी छैन, मैले अहिले नेता हुन खोजको पनि होईन । तर के छ भने हामी देशको मुल कानून बनाउन जाँदाखेरी यस्तो प्रकारले धेरै भन्दा धेरै मानिसलाई समेट्ने नाममा कम भन्दा कम मानिसलाई समेटेर हामी अगाडि बढ्न थाल्यौ त्यो भोली देशको लागि दुर्भाग्य हुन्छ ।

देशलाई संविधान चाहिएको कुरा त मान्न तयार हुनु हुन्छ नि ?
हो, देशलाई संविधान चाहिएको छ । संघीयतामा आधारित लोकतान्त्रिक र बहुलबादमा आधारित संविधान चाहिएको हो । तर त्यो सबै पाईरहेका छैनन नि ।

सीमांकनसहितको संविधान त आउने भयो नि ?
नेपाली काग्रेस र नेकपा एमालेले कहिल्यै पनि संघीयताको पक्षमा बोलेका होईनौ । मधेसको आन्दोलनबाट संघीयता अन्तरिम संविधानमा लेखिएको हो । जानजाती पछि पछि लागे, हामीले पनि त्यसलाई स्विकारेर हिड्यौ । जसले संघीयताको लागि लडे तिनीहरुलाई पाँखा लगाएर, भित्तामा पुर्याएर तपाई अघि बढ्छु भन्दा त्यसलेदेशलाई नोक्सानी गर्न सक्छ । अहिले छ वटा प्रदेश ठिके छ भन्ने हो भने पनि मधेसी दलहरुले जिल्ला टुक्राएर भएपनि जाऔ भन्दा खेरी हाम्रा शिर्ष नेताहरुले कुनै हालतमा जिल्ला टुक्राउन पाईदैन भनेर भने । तर आज आफ्नो स्वार्थको लागि तीनवटा जिल्ला टुक्राउनु भयो । भारत र चिनलाई जोट्न टुक्राउनु भयो । अब त स्पष्ट भयो नि चाहिदो रहेछ ।

मधेस प्रदेश त चिनसँग जोडिएन नि ?
म त अहिले पनि अडेको छु । जिल्ला टुक्राउनु हुँदैन । मानसिकताले जिल्ला टुक्राउनु हुँदैन । जिल्ला टुक्राएर मध्यपश्चिममा यत्रो बबाल भईरहेकोछ । बांग्लुङम बबाल भईरहेको छ । रुकुम, जुम्ला, नवलपरासी, सुर्खेतमा बबाल भईरहेको छ । म पनि यो छ प्रदेशलाई ठिकै छु भन्छु, अन्यथा नलिऔ । मधेसी नेताहरुले अन्यथा नलिने हो भने सप्तरी देखि पर्सासम्मलाई किन त्यसरी छाडिदिएको ? कल्पना गरौ त देश हाम्रो होईन । आयोगमा बस्ने शिर्ष नेताहरुले देशलाई हेर्नु परेन ?के पोखरामात्रै, तनहुमात्रै, नवलपरासीको गैडाकोट मात्रै हाम्रो हो । खोईत सप्तरीदेखि पर्सासम्म हामीले गर्न सकेको ?

काग्रेसको केन्द्रीय समितिको बैठक बोलाईएको छ नि ?
छैन, संविधान र महाधिवेशनको डेटसँगसँगै परेको छ त्यसैमा छलफल गर्न होला । केन्द्रीय समितिको बैठकमा यो कुरा हामी राख्छौ । म कुनै नेताको दया मायाँबाट यहाँसम्म पुगेको होईन । नेपाली काग्रेसका साथीहरुले माया गरेर म यहाँसम्म आएको हुँु । निर्वाचनमा मोरङका साथीहरुले जिताएर मलाई यहाँसम्म पठाएका हुन । नेपाली काग्रेसके विचारसँग प्रभावित भएर म नेपाली काग्रेसमा लागेको हु । बहुलबादमा आधारित लोकतान्त्रिक समाजवादमा नेताहरुको पछि लागेर मैले के पाउने ? न मलाई नेताहरुले केही दिन्छन न म नेताहरुलाई केही दिन सक्छु । नेताहरुलाई नै पुगेको छैन । कसैलाई अखण्ड सुदुरपश्चिम चाहिएको रहेछ । कसैलाई अखण्ड पूर्वाञ्चल चाहिएको रहेछ, कसैलाई मन्त्री चाहिएको छ । कसैलाई पार्टी सभापति चाहिएको छ । कस्तो विचित्र छ भने संविधान बनाउने नाममा एमाले र काग्रेस त एक ठाँउमा उभियो । हामीले कमिट गरेका छौ नेकपा एमालेलाई सरकारको नेतृत्व दिनु पर्छ भनेर त्यो दिनु पर्छ । तर संसदीय ब्यवस्थामा विश्वास गर्ने राजनीतिक दल संसदीय पद्धतिमा दुबै ठूला दल एक ठाँउमा उभिनु हुन्छ ? हामीले के गर्न खोजेको देशलाई कहाँ पुर्याउने खोजेको, केगर्दैछौ भनेर हामी सोच्दा पनि सोच्दैनौ ।

प्रतिक्रिया