नेपाल भारत सम्बन्ध जनस्तरदेखि नै प्रगाढ

इनेप्लिज २०७२ साउन २९ गते १२:१८ मा प्रकाशित

Oli Delivers Remarksकाठमाडौँ, २९ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र भारतबीच भौगोलिक, सांस्कृतिक, प्राकृतिक र आर्थिक सम्बन्धले राजनीतिक सम्बन्धलाई थप मजबुत बनाएको बताउनुभएको छ ।

भारतको ६९औँ स्वतन्त्रता दिवसका अवसरमा आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सदियौँदेखिको दुई देशको सम्बन्ध जनस्तरदेखि नै प्रगाढ रहेको चर्चा गर्नु भयो । उहाँले भूकम्पको समयमा भारतले असल छिमेकीको नाताले अतुलनीय सहयोग गरेको भन्दै प्रशंसा गर्नुभयो ।

अध्यक्ष ओलीले दुई देशबीचको सम्बन्धमा कुनै तिक्तता देखिए अफवाहको पछि नलागी राजनीतिकस्तरबाटै समाधान गरिनुपर्ने उल्लेख गर्दै भन्नुभयो – “भारतको नेतृत्वले नेपालको सम्बन्धमा बोलेको कुरा नै आधिकारिक मान्छौँ, अरुले के भन्छन् हामी त्यसको पछि लाग्दैनौँ ।”

कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाल र भारतबीचको सम्बन्ध पौराणिककालदेखि नै अन्योन्याश्रित रहेको बताउँदै भारतको स्वतन्त्रता आन्दोलनमा नेपालीले लडेको र नेपालमा भएका हरेक आन्दोलनमा भारतीयले साथ दिएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो – “बीपी, मनमोहन, किशुनजीलगायतका हाम्रा नेता भारतको बन्दीगृहमा थुनिनुभयो, चन्द्रशेखरलगायतका नेता यहाँ आएर साथ दिएपछि ०४६ सालको जनआन्दोलन सफल भएको थियो ।”

फरक प्रसङ्गमा उपसभापति पौडेलले पहिलोपटक सङ्घीयतामा जाँदा असन्तुष्टिका स्वर आउनु स्वभाविक भएको भन्दै सीमाङ्कनमा नमिलेका कुरा मिलाएर अघि बढिने बताउनुभयो ।

एनेकपा (माओवादी)का पोलिटब्युरो सदस्य राम कार्कीले नेपाल र भारतबीचको सम्बन्ध जनस्तरको भएको बताउँदै नेपाली भाषाले भारतमा राष्ट्रिय मान्यता पाएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो – “नेपालको संविधान निर्माणको यो घडीमा हामीलाई छिमेकीको अझ सौहाद्रता र सद्भाव चाहिन्छ ।”

राप्रपाका नेता तथा पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले भारत विश्वकै विकसित मुलुकको सूचीमा पर्न अगाडि बढिरहेको हुँदा नेपालले पनि भारतको आर्थिक विकासलार्ई पहिल्याउँदै सँगसँगै अघि बढ्नुपर्छ भन्नुभयो ।

नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल र भारतबीचको जनसम्बन्ध प्राचीनकालदेखि नै स्थापित भएको बताउँदै भारतीय प्रधानमन्त्रीले दुईपटक नेपाल भ्रमण गरेपछि सम्बन्ध झन प्रगाढ भएको बताउनुभयो ।

प्रतिक्रिया