उदार अर्थव्यवस्थाका कारण कर प्रणालीमा सुधार: अर्थमन्त्री डा महत

इनेप्लिज २०७२ साउन २८ गते १४:२२ मा प्रकाशित

Rss_Images_1439454818584_MG-Ktm-mgmtकाठमाडौँ, २८ साउन । अर्थमन्त्री डा रामशरण महतले उदार अर्थतन्त्रका कारण आर्थिक विकासले गति लिनुका साथै कर प्रणालीमा सुधार आएको दावी गर्नुभएको छ ।

आन्तरिक राजस्व विभागले आज ललितपुरमा आयोजना गरेको दुईदिने ‘व्यवस्थापन गोष्ठी’को शुभारम्भ गर्दै उहाँले राजनीतिक उतारचढाव र द्वन्द्वका कारण अर्थ व्यवस्थामा असर पारेका कारण नेपाल दक्षिण एसियाली मुलुकको हाराहारीमा पुग्न कठिन भएको उल्लेख गर्नुभयो ।

उहाँले कुल गार्हस्थ उत्पादनको ४५ प्रतिशत योगदान कृषि क्षेत्रबाट हुने गरेकामा अहिले एक तिहाइ प्रतिशतले घटेको, दुइ तिहाइ प्रतिशतले गैरकृषि क्षेत्रको योगदान बढेको र ५० प्रतिशत योगदान सेवा क्षेत्रबाट भएको जानकारी दिनुभयो ।

उदार अर्थनीतिकै कारण कुल गार्हस्थ उत्पादनको अनुपात १९ प्रतिशतको हाराहारीमा पुगेको बताउँदै उहाँले यसबाट आन्तरिक राजस्व परिचालनमा वृद्धिका साथै समग्र करको संरचनामा सकारात्मक परिवर्तन देखापरेको उल्लेख गर्नुभयो ।

विगतमा भन्सारबाट उठ्ने कर पहिलो स्थान रहने गरेकामा अहिले पहिलो स्थानमा मूल्य अभिवृद्धि कर, दोस्रोमा आयकर र तेस्रोमा भन्सार कर पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

महालेखा नियन्त्रक राजेन्द्र नेपालले कुल गार्हस्थ उत्पादन १९ प्रतिशतभन्दा माथि जानुपर्ने जोड दिँदै यसका लागि महालेखाबाट आवश्यक सहयोग उपलब्ध गराउने वचन दिनुभयो ।

अर्थ सचिव सुमनकुमार शर्माले अघिल्लो आवमा खर्च वृद्धि हुनु, कर वृद्धि नहुनुजस्ता कारणले खर्च धान्न मुस्किल भएको बताउनुभयो ।

विभागका महानिर्देशक चूडामणि शर्माले अघिल्लो आवको कामको मूल्याङ्कनसहित चालु आवका लागि रणनीति तयार गर्ने उद्देश्यले गोष्ठी आयोजना गरेको जानकारी दिँदै अघिल्लो आवको कामको समीक्षा, आगामी आवमा सुधार र लक्ष्य पूरा गर्ने सङ्कल्प, साधना र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले करदाता र कर अधिकृतबीचको सम्बन्ध सुमधुर बनाउन, कर प्रणालीमा थ्रेसहोल्डको व्यवस्था गर्न र अनलाइनबाट कर तिर्ने व्यवस्था गर्न सुझाव दिनुभयो ।
गोष्ठीमा १० वटा कार्यपत्रमाथि छलफल हुने छ ।

प्रतिक्रिया