प्रकोप पीडितका लागि रेडक्रसमा राहत भण्डारण

इनेप्लिज २०७२ साउन २८ गते २:३६ मा प्रकाशित

फलेवास (पर्वत), २८ साउन । सम्भावित प्राकृतिक प्रकोप पीडितका लागि पर्वत रेडक्रसमा लाखौँको राहत सामग्री भण्डारण गरिएको छ ।

गत वैशाख १२ गते आएको भूकम्पपीडितका लागि ढिलो गरी आएको राहत सामग्री यातायात समस्याका कारण गाउँमा पठाउन नसकिएपछि नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाले बर्खायाममा हुने सम्भावित प्रकोप पीडितका लागि भनेर राहत सामग्रीको भण्डारण गरेको हो ।

रेडक्रसका पर्वत सभापति रुद्रबहादुर रिमालका अनुसार संस्थासँग भएको खाद्यान्न र ओढ्ने ओछ्याउने सिरक डसनाको भण्डारण गरिएको छ । भारतको आगरा उत्तर प्रदेशबाट नेपालको भूकम्पपीडितका लागि भनेर पठाएको राहत सामग्री लामो समयसम्म नेपाल भारत सीमामा अलपत्र परेको थियो । सामग्री लिन कसैले चासो नदेखाएपछि शाखाले सामग्रीको ढुवानी गरी पर्वत ल्याएको जानकारी सभापति रिमालले दिनुभयो ।

सामग्री आउन ढिला भयो, त्यसपछि वर्षा सुरु भयो । सामग्री तत्काल गाउँमा पठाउन समस्या परेको बताउँदै जिल्ला दैवी प्रकोप उद्धार समितिसँगको सहमतिमा बर्खायामका प्रकोप पीडितका लागि सामग्री भण्डारण गरिएको सभापति रिमालको भनाइ छ । सम्भावित बर्खायामको प्रकोप पीडितका लागि रेडक्रससँग सामग्री भण्डारण गरिएको भन्दै प्रमुख जिल्ला अधिकारी तथा दैवी प्रकोप उद्धार समितिका संयोजक ऋषिराम तिवारीले बर्खायामका कारण पीडित बनेकाका लागि तत्काल उक्त सामग्री प्रदान गरिने बताउनुभयो ।
समितिको बैठकले तत्कालका लागि देउराली गाविसको जयलेमा पीडित बनेकाका लागि उक्त सामग्री वितरण गर्ने निर्णय गरेको छ । यसैगरी समितिले सम्भावित सहयोगी सङ्घसंस्थासँग मिलेर अन्य टिन लगायतका राहत सामग्रीको पनि जोहो गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया