चिसापानीमा प्रहरी चौकी स्थापना

इनेप्लिज २०७२ साउन २६ गते ३:३२ मा प्रकाशित

इलाम, २६ साउन । स्थानीयस्तरमा हुने अवैध चोरी तस्करी नियन्त्रण तथा नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्ने उद्देश्यले चिसापानी गाविसमा प्रहरी चौकीको स्थापना गरिएको छ ।

स्थानीय बासिन्दाले सुरक्षाको माग गर्दै चौकीलाई आवश्यक पर्ने जग्गा, भवन निर्माण गरिदिएपछि जिल्ला सुरक्षा समन्वय समितिले चौकी स्थापना गरेको हो ।

प्रहरी चौकीको सोमबार इलामका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीले उद्घाटन गर्नुभयो ।

चौकीमा प्रहरी हवल्दार उमानाथ भट्टराईको नेतृत्वमा पाँच प्रहरी रहने छन् । पाँच वटा कोठासहितको चौकीमा महिला र पुरुषका लागि छुट्टाछुट्टै हिरासत कक्ष,भान्सा घर, ब्यारेक कोठासमेत निर्माण गरिएको छ ।

सदरमुकामबाट करिब तीन÷चार घन्टाको पैदल दूरीमा पर्ने यस गाविसमा प्रहरी नहुँदा स्थानीयले त्रासदीपूर्ण जीवन बितारहेका थिए ।
यस गाविसमा जिल्लाबाट समेत प्रहरी हत्तपत्त नपुग्ने, दानाबारीमा रहेको प्रहरी चौकीको खासै अनुगमन नहुँदा यस क्षेत्रबाट अवैध काठ तस्करी हुने गरेको स्थानीयवासी बताउँछन् ।
प्रहरी चौकीलाई स्थानीयले तीन रोपनी जग्गा निःशुल्क दान दिएका छन् । चौकी निर्माण गर्न लाग्ने खर्च सबै स्थानीयले जुटाएका हुन् ।
प्रहरी चौकीको उद्घाटनपछि प्रहरी नायब उपरीक्षक प्रकाश रानाभाटले जिल्लाको नागरिकले अब शान्ति सुरक्षाको महसुस गर्ने बताउनुभयो ।

जिल्लाका गजुरमुखी, गोर्खे, शान्तिपुरलगायत आधा दर्जन बढी स्थानमा प्रहरी चौकीको माग भए तापनि जनशक्ति अभावमा स्थापना गर्न नसकिएको प्रनाउ रानाभाटले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखले चौकी स्थापनाले नागरिकको शान्तिपूर्ण बाँच्ने पाउने हक अधिकारलाई सुनिश्चित हुने विश्वास गरिएका छन् ।

प्रतिक्रिया