सहमति नगरे फरक अनुहार आउन सक्छ : ओम गुरुङ(अन्तर्वार्ता )

इनेप्लिज २०७२ साउन २५ गते २२:४१ मा प्रकाशित

Om-GURUNG1-copy

ओम गुरुङ, जापानवासी नेपाली माझ परिचित एवं सकृय व्यक्तित्व हुनुहुन्छ । जापानमा रेमिटयान्स व्यवसायमा संलग्न रहनु भएका गुरुङ गैरआवासीय नेपाली संघ एनआरएनएको अन्तराष्ट्रिय समन्वय परिषद आईसीसीका सदस्य तथा जापान निर्वाचन समितिको परवेक्षक समेत हुनुहुन्छ । विगत एकदशक भन्दा वढी समयता जापानवासी नेपालीहरुको विभिन्न सामाजिक संघसस्था सहित एनआरएनए जापानमा उपाध्यक्ष हुदैँ एक कार्यकाल अध्यक्ष भई कार्यअनुभव संगाली सक्नुभएको छ। कार्यक्षेत्रमा अनुुभवी तथा प्रष्ट वक्ताको रुपमा आफनो पहिचान बनाउनुभएको छ ।

कामदार भिसामा जापान प्रवेश गर्नुभएका गुरुङ नेपालीहरु माझ विभिन्न आपतमा सहयोगी भूमिका निर्वाह गर्दै तमुधिँ जापानको वर्तमान सल्लाहकार, नेपाल आदिवासी जनजाति महासंघ जापानको अध्यक्ष हुदै विभिन्न सामाजिक संघसंस्थाहरुको जिम्मेवार निर्वाह गरि सक्नुभएको छ । प्रस्तुत छ एनआरएनए आईसीसी सदस्य गुरुङसंग आसन्न एनआरएनए जापानको निर्वाचन तथा आइसीसीको अधिवेशन गतिविधि विषयमा केन्द्रीत रहेर नेपाल जापान डटकमका लागि आनन्द कोइरालाले गर्नुभएको कुराकानी संक्षेपः

मतदाता कम उम्मेदवार वढी भएको एनआरएनए जापानको चुनावी माहौललाई पूर्व अध्यक्षको हैसियतले कसरी नियाली रहनुभएको छ ?

पछिल्लो पटक संस्थामा काम गर्छु भनेर धेरै साथीहरु आउनुभएको छ । उम्मेदवारी आकांक्षा राखेर पदमा काम गर्न योग्य छु भनेर आउनु भनेको स्वागत योग्य कुरा हो । हामी जापान जस्तो देशमा वसेर हेर्दा यहाँका हरेक नेपालीहरु संस्थाको सदस्यता भएपनि नभएपनि सवै गैरआवासीय नेपाली हौ । संस्थामा यतिधेरै सदस्यता भएको अवस्था अन्य देशको तुलनामा नराम्रो मान्न सकिदैन। प्रतिनिधि मुलक सदस्य संख्यालाई राम्रै मान्न सकिन्छ । कुल जनसख्या मध्ये चारहजार मतदानका लागि तयार हुनु भएको छ । यसलाई स्वागत गर्दै आगामी दिनमा राम्रो टिम आएको खण्डमा धेरै सदस्यता वन्न सक्छन भन्ने लाग्छ ।

करिव ४५ हजार नेपाली रहेको जापानमा चार हजार मात्र सदस्य वन्नुभएको छ । किन सदस्य सख्या वढन नसकेको होला? कार्यसमितिको पहुँच नभएको वा सदस्य नै वन्न नखोजेर हो?

मेरो विचारमा दुवै कारणले सदस्य संख्या नवढेको हो । जापानमा धेरैजसो नेपाली श्रम गर्न आउनुभएको छ । उहाँहरुलाई सामाजिक संघसस्थामा आवद्धता हुने चासो नहुन पनि संक्छ । यस्तै संस्थागत हिसावले भन्दा कार्य समितिमा वसेका साथीहरुले सदस्य संख्या वढाउन पहल नगरेका कारण पनि यस्तो भएको हुन सक्छ । नेचुरल्लि नै पनि हाम्रो नेपाली समुदाय विना कारण सामाजिक संस्थामा संलग्न हुदैनन । जस्तो फुर्सदको समयमा अर्को साहै्र अप्ठयारो अवस्थामा ।

चुनावी कार्यक्रम सार्वजानिक नै नभई जापानमा कार्यसमितिको यो पद त्यो पद भनेर घोषणा गरिएको देखियो यो त नेपालीहरुमाझ पुरानै प्रचलन होनी ?

पुरानो प्रचलन नै भन्न त मिल्दैन । चुनाव आउन लाग्दाँ भित्रै भित्रै संगठन वनाउने र अन्य गतिविधि पहिला पनि हुन्थ्यो तर अहिले भने कार्यसमितिले निर्वाचन कार्यतालिका सार्वजानिक ढिलो गरेको हुनाले यस्तो देखिएको जस्तो लाग्छ । कार्यसमितिको निर्णय भन्दा अघि हिडेजस्तो भएपनि कार्यसमिति कै साथीहरु अघिवेशन भन्दा पनि आफनो प्रचारमा वढी लागेको पाएका छौ । आफनो पक्षमा माहौल वनाउन हिडेका साथीहरुको पहिलो जिम्मेवारी निर्वाचनको तयारी गर्नु पर्नेमा ढिलो गर्नुभएको छ । निर्वाचनको मिति तोकेर हिडनु पर्नेमा तालमेल नमिलेको जस्तो देखिन्छ ।

झोलामा सदस्यता फाईल वोकेर हिडे जस्तै यस पटक पनि रातारात सदस्य वनाउन हिडेको होटल, रेष्टुरेन्ट रिर्जव गरेर सदस्य वनाएको सुनियो किन यस्तो संस्कार अन्त कहि नभएर एनआरएनएको चुनावमा देखियो ?

यो जति पनि भएको सुनिएको छ । एकदमै गलत भएको छ । यसले संस्थालाई कहिल्यै फाईदा पुरयाउदैन । उम्मेदवारहरुले त्यो गलत गरेका छन । आफु दक्ष नभएपछि आफनो माहौल वनाउन प्रचार गर्न यसरी लागेका हुन । आम मानिसलाई सदस्यता लिने वातावरण संस्थाको कार्यक्रमले तय गर्ने हो कार्यसमितिमा भएका साथीहरु चाहे जुनसुकै पदमा किन नहुन यस्तो कार्यमा संलग्न हुनु भनेको गलत हो । जस्तो नेपालको राजनीतिक दलहरुको उदहारण दिउँ । कुनैपनि पार्टीले राम्रो काम गरेको खण्डमा सो कामको मुल्याङकन अन्य विपक्षी पार्टी तथा सर्वसाधारणहरुले राम्ररी गरेका हुन्छन । एनआरएनएले पनि संसारभरी छरिएका नेपालीको हितका लागि काम गर्ने हो । यसका लागि झोला वोकेर फर्म वोकेर सदस्यता वनाउदै हिडनु पर्ने आवश्यकता छैन ।

नेपालको विपक्तीमा सहयोग गर्न जापानमा एनआरएनएमा कति सदस्यता छन भन्ने विषय महत्वपूर्ण हुदैन । सदस्य भएपनि नभएपनि काम महत्वपूर्ण भएको संस्था भएकाले स्वतस्फुर्त सदस्य लिने वातावरण वनाउन काम गर्नु पर्ने आवश्यकता देखिन्छ ।

अर्को महत्वपूर्ण कुरा एकपटक सदस्य भएको व्यक्ति पटकपटक नविकरण गर्नुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने देखिएको छ । सदस्यता शुल्कबाट उठेको पैसाले संस्था चलाउने होईन । यसको विकल्प खोज्न सक्नुपर्छ । यो हाम्रा नयाँ उम्मेदवारहरुको कमजोरी हो । रातारात वनाएका सदस्यहरुले संस्थालाई खासै फाईदा पुरयाउदैन ।

यस्तै कारणले हो एनआरएनएमा धनिहरुको मात्र पहुँच भएको ?

यो नै कारण होइन । रातारात सदस्य वनाएर खाईपिई गर्दा अलिअलि खर्च होला । त्यो सामान्य खर्च हो । संस्थामा लागि सकेपछि नेतृत्वमा आईसकेपछि दिनुपर्ने समय र अन्य खर्चको हिसावमा धेरै आर्थिक भार वहन गर्नु पर्ने हुन्छ । पैसावालाको संस्था भन्ने आक्षेप आएको छ । यसलाई कसरी भन्छु भने साहित्यकारहरुको संस्था संचालन गर्नकालागि पनि पैसा चाहिन्छ भने एनआरएनए भनेको त ‘च्यारिटि’ गर्ने संस्थाहो । सहयोगी संस्था हो । समाजमा लगानी गर्ने, व्यवसाय गर्ने वातावरण वनाउने, विकास र प्रविधि प्रवद्र्धन, लगानी, संस्कृति आदनप्रदान लगायतको काम गर्ने संस्था हो ।

लगानी गर्ने संस्था भएकाले त्यहाँ लागेकाले योजना अनुसार पैसा लगानी गर्न सक्नुपर्छ, संस्थाको स्थापना यसका लागि भएको हो । लाखबाट सुरु हुने योजनामा लाख रुपैयाँ, करोडबाट हुने समयमा करोडको पनि लगानी गर्नुपर्ने हुन्छ, त्यो सख्या अवस्था हेरेर पनि पर्न सक्छ । तरपनि सवै तह र तप्काका मानिसलाई समेटेर लानुपर्ने अवस्था छ । तर संस्थामा पैसा पनि महत्वपूर्ण कुरा हो भन्ने भल्नु हुदैन । कसैले यसलाई व्यक्तिगत आरोप, आक्षेप लगाएका भएपनि संस्थाको कामलाई अन्यथा लिन मिल्दैन ।

एनआरएनए जापानको नयाँ नेतृत्वका लागि सहमतिको वातावरण खोज्दै हुनुहुन्छ, यसको संभावना कक्तिको देख्नुहुन्छ ?

मेरो कार्यकालको वारेमा भन्नुहुन्छ भने त्यो वेला कुल पदमा ३० जना आकांक्षी थिए । ६ जना अध्यक्षको प्रत्यासी वन्न चाहनु हुन्थ्यो तर हामीले सहमति गरेर कार्यसमिति निमार्ण गरयौ । आखिर चाहने हो भनेर हुनसक्छ भनेर देखायौ । यसका लागि मेरो आफनै सुत्र छ । सहमति गर्ने हो भने, चाहने हो भने, आफु सक्षम छु भनेर देखाउन सक्नु पर्छ । अर्को कुरा अन्य आकांक्षीहरुलाई पनि ठाउँ बनाई दिनुपर्छ । एकले अर्कालाई सम्मान गर्नुपर्छ । संभावना प्रसस्तै छ भन्छु ।

सहमतिका नाममा पूर्व अध्यक्ष तथा अग्रजहरुबाट अहिलेका उम्मेदवारी आकांक्षीहरु भन्दा वाहेक अन्य अनुहारबाट सहमतिको उम्मेदवार तयार गर्दै हुनुहुनछ भन्ने सुनिन्छ नी ?

यसवारे म केही प्रस्टयाउछु । एक समय हामीले नयाँ आउने कार्यसमितिमा नयाँ अनुहार र नयाँ जोस भएका साथीहरुलाई काम गर्ने वातावरण वनायौ । त्यसमा हामीले कुनैपनि हस्तक्षेत्र गरेनौ र मागेको सहयोग दियौ, लियौ । तर विस्तारै केही साथीहरुले संस्थाको साख गिराएको र संस्थाको मान मर्यादालाई ख्याल नगरिएको पाईएकाले निर्वाचनबाट चुनिएर आएका साथीहरुले कस्तो काम गर्नु हुन्छ भन्नेमा धेरै गुनासाहरु आए । यसका लागि हामीहरुले छलफल गरेर नै समन्वय गराउने होकी भनेर पनि सोच्यौ । यसको मुख्य कारण आउने साथीहरुले सक्षम रुपमा काम गर्ने वातावरण मिलोस र संस्थामा लाग्ने साथीहरुलाई पनि सदस्य भएकोमा गर्व गर्ने ठाऊ होस भनेर । समुदायले पनि सम्मन गरोस ।

संस्थामा संस्थाको ‘हाईट’ र ‘वेट’ अनुसारको क्षमता राख्ने साथीहरु नै आउनु पर्छ भनेर हामीले पुराना दिनहरुमा धेरै छलफल र वहस पनि गरेका थियौ । अहिले पनि हामी सहमतिको खोजीमा नै छौ तर अन्य क्षेत्रबाट खोजेर ल्याएको व्यक्ति नै हुनुपर्छ भन्ने हामीले लिएका छैनौ । संस्थामा वसेर काम गर्छु भन्ने साथीहरुबाट नै सहमति हुनुपर्छ भन्ने हाम्रो बझाई हो निर्वाचनमा गएर भन्दा यसरी गर्दा संस्थालाई प्रभावकारी वनाउछ । र यो आवश्यक पनि छ ।

धेरै आकांक्षीहरु आई सकेको अवस्थामा, सहमति नगराउनुमा एनआरएनएको विधान पनि वाधक भएको भनिन्छ नी? पुरानो कार्यसमितिमा विद्यार्थीहरुको सहभागिताले नेतृत्व चयन गरेको थियो तर अहिले पुरै विद्यार्थी वर्ग निर्वाचनमा भागलिनबाट वंचित भएको अवस्था छ? एनसीसी र आईसीसीको विचको समन्वयमा पनि ज्ञाप देखिन्छ नि?

त्यसैले नै ‘म्याच्योर’ र ‘सेन्स’ भएको ‘टिम’ कार्यसमितिमा आउनुपर्छ भन्ने हाम्रो वुझाई हो । अब के हुदै छ, संस्था कसरी अगाढी वढदै छ, भनेर बुझने व्यक्ति नभएको खण्डमा यस्तो अवस्था आउछ । विधानको कुरा गर्ने हो भने आईसीसी र एनसीसीको वीचमा केही असमझदारी रहेका छन । त्यसलाई समान वनाउन तयारी हुदैछ । अवको राष्ट्रिय सम्मेलनले यसलाई पारित गर्दैछ । यसले यस्तो अवस्थालाई रोक्छ । समानता भएपछि जापानमा पनि काम हुन्छ भन्ने विश्वास छ । विद्यार्थीको हकमा नयाँ नियम नेपाल सरकारले तयार गरेको वुदाँ हो । मेरो विचारमा पनि विद्यार्थीहरु राष्ट्रका गहना हुन, भावी पुस्ता हुन ।

राष्ट्रको ‘थिकं-टयान्क’ले माथी उठेर काम गर्न पाउनु पर्छ । व्यक्तिगत रुपमा म यसमा असहमत भएपनि राज्यले दिएको निर्देशन पालन गर्नु पर्नेभएकाले विद्यार्थीहरु यसपटक देखि समेटिदैनन । व्यक्तिगत हिसावमा ‘थिकं-टयान्क’लाई वाहिर राखेर जादाँ हामीलाई धेरै गार्हो हुन्छ । यसवर्षको सम्मेलनले नयाँ विधान निमार्ण गरेर नेपाल सरकारसंग यस विषयमा ‘लविङ’ गछौ ।

एकदशक वढी भयो संस्थाको स्थापना भएको, एनसीसी र आईसीसीको विधान तथा अन्य विषयमा अझै समझदारी नभएको जस्तो देखिएको छ किन यस्तो भएको होला?

अहिलेसम्म कुनैपनि विषयमा विवाद थिएन । दर्ता प्रकृयामा जादाँ अहिले आएर नेपाल सरकारले हामीलाई केही विषयमा विधान नै परिवर्तन गरेर दिएकाले यस्तो भएको हो । नेपाल सरकारको तर्फबाट आएको विधानमा दुई विषयमा विवाद छ । हामीले नेपालको एयरपोर्ट छाडेर गएको एकसय ८६दिनमा एनआरएनएको सदस्य वन्न पाउनु पर्छ भनेका छौ ।

नेपाल सरकारले दुई वर्ष पुरा भएको व्यक्ति मात्र भनेको छ । हामीले एसियाका सार्क मुलुकका सवै एनआरएनए सदस्य वन्न पाउनु पर्छ भनेका छौ । नेपाल सरकारले विद्यार्थी वाहेकलाई मात्र सदस्य वन्न पाउने भनेको छ ।

संस्थाको संरचनाले ‘ग्याप’ राखेको छैन । व्यक्तिको बुुझाईमा भर पर्ने भएकाले यस्तो भएको हो । कम्युनिकेसन ‘ग्याप’ भएकाले यस्तो भएको होला । यसमा आईसीसीका हरेक सदस्यहरु यसमा प्रष्ट छन एनसीसीले चाहेको खण्डमा जुनवेला पनि यसवारेमा बुझन सक्छन ।

फेरी, जापानको अधिवेशन पछि हुने कार्यसमितिमा चयनमा सहमतिमा जाने हो भने अहिले देखिएका आकांक्षीहरु भन्दा फरक व्यक्ति आउने संभावना देख्नुहुुन्छ ?

सहमतिको विषयमा मैले जहिले भनि रहेको कुरा के भने अहिलेसम्म निर्वाचन समितिले निर्वाचनको कार्यक्रम सार्वजानिक गरेको छैन । यसवेलासम्म अरुले पनि आफनो आकांक्षा राख्न सक्छन । केही साथीहरु सहमति नगर्ने भन्नुभयो भने यस्तो अवस्था हुनपनि सक्छ । यत्रो जनमानसले चाहेको व्यक्तिलाई ससम्मान मान्ने वातावरण आउनुपर्छ। सर्वसम्मत सहमति नभएपनि जनमानसको धारणालाई मान्नुभएन भने बाह्य हस्तक्षेपको अवस्था आउनपनि सक्छ । यदि तपाईले आम मानिसको आकाक्षा मान्नुभएन भने कसका लागि नेतृत्वमा आउन लाग्नुभएको हो भन्ने गलत अर्थ लाग्न नदिन सहमतिको वातावरणमा अगाडी वढनु पर्छ । गर्ने ईच्छा शक्ति भएको साथीहरु आउनु हुन्छ भने हामीलाई आपक्ति छैन ।

एनसीसीको अधिवेशनसंगै आईसीसीको पनि चुनावी सरगर्मी विस्तारै चढेको अवस्थामा तपाईहरु सहमतिको साटो सजिलै पद प्राप्त हुने भन्दै संगठन वनाउन भनेर चुपचाप वस्नुभएको आरोप लागेको छ नी?

आईसीसीमा पनि आकांक्षीहरु देखिनुभएको छ । यदि सहमतिमा आउने हो भने सवैलाई स्थान वनाएर मिलेर जान सकिन्छ । सहमति भएको खण्डमा गर्न नसकिने केही छैन। उपाध्यक्ष भवन जीसंगै चार जना आईसीसीमा छौ । हामी सहमति हुन्छ भने सवैपक्ष मिलेर जाऔ भनेका छौ । आईसीसी र एनसीसीमा भरसक सहमत गरेर जाऔ भन्ने छ । अझ एनसीसीमा पहिला सहमति गरेर जाऔ अनि आईसीसीमा  ‘अण्डरस्टयाण्ङि’ बनाऔ भनेका छौ । त्यसलाई नराम्रो भन्ने र आआफनो ढंगले गलत व्याख्या गरिएको छ ।

आईसीसीमा पनि एउटा समुह लामो कार्यकाल लगातार वस्ने परिपाटी वढेकोले नयाँ अनुहारहरुलाई जाने स्थान नदिइएको गुनासो सुनिदै छ नी?

त्यो मान्छेमा भर पर्ने कुरा हो । कसैले सामान्य विषयलाई अतिरंजित वनाउन खोज्छ भने त्यो उसको बुझाई हो । मेरो बुझाई सोध्नुहुन्छ भने नयाँ मान्छेलाई स्थान छोडनु पर्छ । नत्र अवसर नै आउदैन नयाँ अनुहारले नयाँ ढंगले काम गरेर देखाउने मौका मिल्छ । रहयो पुरानो मान्छेको कुरा, व्यक्तिगत रुपमा भन्दा कुनैपनि संस्थामा दिएको समय र त्यागको प्रतिफल र त्यसको अवस्था प्रति सवैको माया हुन्छ । त्यसकारण कहिन कहि मान्छेले पद खोजेको हुन्छ ।

यसमा मेरो भिन्नै धारणा छ । कोहीपनि व्यक्ति पदमा फेरी पनि आकांक्षा राख्छ भने त्यसको पहिलेको कामको मुल्याङन गर्दै कति योग्य र त्यागी छ यसवारेमा हेर्नु आवश्यक हुन्छ । आईसीसीमा हामी फेरी अध्यक्ष शेष घलेलाई दोहोरयाउन आग्रह गर्दैछौ । यस्तै एनसीसीमा पनि कतिपय साथीहरुलाई योगदानका आधारमा समेटेर लानु पर्छ भन्ने मतदाताहरुले, आम सर्वसाधारणहरु सोच्नुपर्ने कुरा हो । व्यक्तिको अनुशासन, व्यक्तित्व र लगाव हेरेर जिम्मेवारी दिदै लानुपर्छ । मेरै हकमा कुरा गर्दा रोशन केसीजी अध्यक्ष हुदाँ म उपाध्यक्षमा सहमति मै चित्त वुझाएको थिए । मेरो कार्यकालमा पनि सहमति नै भयो । आईसीसी मै पनि सहमति मै गए । र अव पनि सहमतिमा नजा भन्नु हुन्छ भने म सहमत हुन सक्छु । म काम गर्ने मान्छे भएकाले जहाँबाट पनि काम गर्छु यसले मलाई फरक पार्दैन ।

नेपाली संस्थाहरु जुन सामाजिक, सामुदायिक जस्तो भएपनि विवाद भएको, आपसमा मनमुटाव भएको पाईन्छ । एकजना अनुभवी व्यक्तिको हैसियले भन्दा हामी कहाँ किन यस्तो हुन्छ ?

मान्छेको मानवीय आचरणका कारण मान्छेले एकले अर्कालाई आक्षेप लगाउने गर्छन । मेरो बुझाईमा दुई किसिमले एकातर्फ हेर्दा संस्थालाई अत्यन्तै माया गर्ने मान्छेले गलत आचरण कृयाकलाप भएको खण्डमा गर्छन भने अर्को तर्फ रहरले पदमा वसेर काम नगरेपछि अरुले त्यसो भन्नुअन्यथा नहोला । वोलेर मात्र हुने भएदेखि नेपाल हाम्रो देश स्विजरल्याण्ड वन्थ्यो । हामी माझ कुनैपनि क्षेत्रमा निकायमा गंभिर भएर काम गर्ने हो भने त्यहाँ सफलता पाउन सकिन्छ तर हाम्रो त्यो परिपाटी छैन । राम्रा मान्छेहरुले काम गर्ने अवसर नपाएपछि उसले छाडेर जान्छ, अनि त्यसठाउमा काम नगर्ने पदमात्र ओगटने समुहको भिड जम्मा हुन्छ । अधिकांस संघसंस्था होस वा राजनीतिक पार्टीमा पनि यस्तो देख्न पाईन्छ । यसैले हामी र हाम्रो समाजमा विकृति वढेको छ । एनआरएनएको हकमा पनि पदमा वस्छु भनेर मात्र हुदैन काम गर्नुपर्छ । काममा रमाउन खोज्नेले काम नै गर्छ उसलाई पदको महत्व हुन्न । तर, पद नपाई काम नगर्ने मान्छेले काम गदैन त्यो प्रष्ट छ ।

अन्त्यमा, एनआरएनए आईसीसी र एनसीसीमा कस्तो मान्छे नेतृत्वमा आउनु पर्छ भन्नुहुन्छ ?

आईसीसीको हकमा भन्दा अहिलेसम्म शेष घलेको विकल्प देखेका छैनौ । त्यही भएर हामी सवैले उहाँलाई पुन अर्को कार्यकालका लागि अनुरोध गरेका छौ । एनसीसीको कुरा गर्दा पदमा वसेर काम गर्नसक्ने, समय दिन सक्ने र ईमानदार व्यक्ति नै नयाँ नेतृत्वमा आउनुपर्छ भन्ने मेरो चाहना हो । यदि यस्ता मान्छेहरु आउनु हुन्छ भने हामी, म पूर्ण रुपमा सहयोग गर्न तयार छु । संस्थामा राम्रो मान्छे आउनुभयो भने जापान पावर फुल राष्ट्रका रुपमा पर्छ । हरेक कुरामा नेतृत्वसंगसंगै काम गरिरहेको हुन्छ । नयाँ आउने साथीहरुले पनि आफनो उचाई, दक्षता नापेर संस्थामा आउनुभएको खण्डमा राम्रो हुन्छ । यसका लागि उहाँहरुको तयारी पनि राम्रै चाहिन्छ।

सौजन्य : नेपाल जापान डटकम

प्रतिक्रिया