सहयोगीलाई सम्मान

इनेप्लिज २०७२ साउन २५ गते २१:०८ मा प्रकाशित

11225223_836185356472420_8129149478685925179_n - Copy

बाल्टिमोर,अमेरिका,अगष्ट ९ | अमेरिकामा रहेका नेपालीहरुको सामाजिक संस्था नेपाल अमेरिका सोसाईटी फर दी अप्रेस्ड कम्युनिटी (नासो कम्युनिटी) ले आफ्ना सहयोगी एवं स्वयम् सेवकहरुलाई सम्मान गरेको छ | आज यहाँ आयोजित एक कार्यक्रममा नासोले गत वैशाख १२ गते मात्रिभूमि नेपालमा गएको भूकम्पका कारण प्रभावितहरुलाई राहत वितरणका लागि सहयोग गर्नेहरुलाई सम्मान गरेको हो |संस्थामार्फत सबैभन्दा बढी रकम संकलनको पहल गर्ने संस्थाका सक्रिय सदस्य विक्रम पोखरेल र उनकी धर्मपत्नी सुकीम पोखरेललाई संस्थाले आज एक कार्यक्रमका बीच सम्मान गरेको छ |

पोखरेल आफुले व्यक्तिगत तर्फबाट दुई हजार डलर सहयोग प्रदान गरेका थिए भने संस्थाको पहलमा संकलित कूल बीस हजार डलर मध्ये अधिकांश रकम सहयोग जुटाउन पोखरेलले नै पहल गरेका थिए | पोखरेल दम्पतिलाई आज आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल विश्वकर्मा र कार्यक्रमका प्रमूख अतिथि मेरिल्याण्ड र पेन्सिलभेनियाका महावाणिज्यदूत प्रेमराजा महतले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो | सो सम्मान पत्र नासोका पूर्व सल्लाहकार प्रकाश नेपालले पढेर सुनाउनु भएको थियो |

नासोले भूकम्प पीडितका लागि पहिलो चरणमा अमेरिकाबाट पोखरेलसहित अन्य सहयोगीहरुको पहलमा बीस हाजर डलर रकम संकलन गरेको थियो | सोही मध्ये संस्थाका अध्यक्ष गोपाल विश्वकर्मा आफैं नेपाल गइ करीब १६ लाख रुपैयाँ बराबरको राहत प्रदान गरेर फर्कनु भएको छ | यस मध्ये दुई लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न नासोका अध्यक्ष विश्वकर्माको नेतृत्वमा गएको एक टोलीले प्रधानमन्त्री सुशील कोइरालालाई भेट गरी प्रदान गरेको छ | 

आज दाताहरुलाई सम्मान तथा खर्चको विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार अमेरिकामा रहेका नासो कम्युनिटीका सदस्य र कतिपय अमेरिकी नागरिकहरुले समेत यस अभियानमा सहयोग गरेका थिए | यस क्रममा सन् १९९९ को नोबेल विश्व शान्ति पुरस्कार विजेता डाक्टर्स विथ आउट बोर्डर्सकी बारबरा जे ट्रीम्वलले सात हजार डलर बराबरको मेडिकल सामग्री र दुई हजार डलर नगद सहयोग प्रदान गरेकी थिइन् |

नासोले नेपालमा दलित गैर सरकारी संस्था महासंघको सहयोगमा राहत वितरण गरेको थियो | राहत वितरणका लागि नासोका तर्फबाट अध्यक्ष गोपाल विश्वकर्मा आफैं राहत सामाग्री लिएर प्रभावित क्षेत्रमा पुगेका थिए |

आजको कार्यक्रममा अध्यक्ष गोपाल विश्वकर्माले संकलित रकमबाट भूकम्प अति प्रभावित सिन्धुपाल्चोक,पर्वत,ललितपुर,धादिङ र गोर्खा जिल्लाका विभिन्न गाउँका प्रभावित वासिन्दाहरुलाई खाद्यान्न,जस्तापाता लगायत राहत सामाग्री वितरण गरेको जानकारी दिनुभयो | उहाँले हजारौं मानिसको निधन, दशौँ हजार घाईते र लाख मानिस घरवारविहीनको त्रासदीपूर्ण पलको सामु पहिलो चरणमा सानो रकमकै भए पनि राहत प्रदान गरिएको भन्दै दीर्घकालीन रुपमा नासोले पुर्ननिर्माणमा पनि सहयोग जुटाउने पहल गरेको जानकारी दिनु भएको छ । 

कार्यक्रममा नासोको तर्फबाट भूकम्प पीडितका लागि आर्थिक सहयोग प्रदान गर्ने सबैलाई कदर पत्र प्रदान गरिएको थियो | कार्यक्रममा मेरिल्याण्ड  तथा पेन्सलभेनिया राज्यका लागि महावाणिज्यदूत प्रेमराजा महतले जहाँ भए पनि मातृभूमिको लागि सहयोग गर्ने नेपालीको चाहना नासोले समेत पूरा गरेकोमा धन्यवाद दिए | उनले भने-‘ हामीहरुले प्रवासमा वसेर देशमा दुःख परेको वेलामा साथ दिनु कर्तव्य हो ।’

कार्यक्रमका विशेष अतिथि हाल अमेरिका भ्रमणमा रहेका पूर्व सांसद तथा राष्ट्रिय वेपत्ता छानविन आयोगका सदस्य विजुल विश्वकर्माले नासोले नेपालको विभिन्न स्थानमा राहत वितरण गरेको भन्दै नासोलाई प्रवासमा वसेर देशलाई सहयोग गरेकोमा धन्यवाद दिए | विश्वकर्मा आफैं पनि नासोको राहत वितरण कार्यमा सहभागी भएका थिए | उनले आगामी दिनमा पनि विभिन्न प्रकारको सहयोगलाई निरन्तरता दिन प्रवासी नेपालीसँग अनुरोध गरे ।

स्वास्थ्य परीक्षण र मनोपरामर्श सेवा 

नासोले प्रभावित क्षेत्रका पीडितहरुका लागि नि:शुल्क स्वास्थ्य परीक्षण र मनोपरामर्श सेवा समेत संचालन गरेको थियो | यसका लागि नासोलाई नेपालमा लेक सिटी अस्पताल एण्ड क्रिटिकल केयर प्रालिले सहयोग गरेको थियो | नासोका अध्यक्ष गोपाल विश्वकर्माका अनुसार सोही अस्पतालका प्रवन्ध निर्देशक यमनाथ सापकोटाको समन्वयमा चिकित्सक र नर्सहरुको एक टोलीले कास्कीको रुपाकोट र पर्वतको कुश्मा बजारमा नि:शुल्क स्वास्थ परीक्षण र मनोपरामर्श सेवा संचालन गरेको थियो | रुपाकोटमा आयोजित यो शिविरबाट चार सय जनाले सेवा प्राप्त गरेका थिए भने कुश्माको शिविरबाट ६०० जना लाभान्वित भएको अध्यक्ष विश्वकर्माले जानकारी दिनु भयो |

घर समेत बनायो नासोले 

नासोले राहत तथा पुनर्स्थापनाका क्रममा नेपालमा भूकम्प पीडितहरुका लागि आवास गृह (घर) समेत बनाउन पहल गरेको छ | पहिलो चरणमा यस्तो घरहरु राजधानीको कलङ्कीस्थित सुनार टोलका भूकम्पपीडितहरुका लागि निर्माण गरिनेछ | यसका लागि अहिले आठ वटा घर निर्माणको काम सुरु गरिएको समेत विश्वकर्माले जानकारी दिनु भएको छ | आज आयोजित सम्मान कार्यक्रममा सहभागी हुनु भएका सुनौलो समाज नेपालका अध्यक्ष संजीव बरालले नासोको सहयोगमा समाजले घर निर्माण कार्य सुरु गरेको जानकारी दिनुभयो | पुनर्निर्माणको यो चरणमा थप सहयोग गर्न नासोका तर्फबाट यसका सक्रिय सदस्य मध्ये एक विक्रम पोखरेलले आफैं नेपाल जान लागेको समेत जानकारी दिनु भएको छ | कार्यक्रममा नासोले वितरण गरेको राहतका बारे तयार पारिएको एक भिडियो रिपोर्ट समेत प्रस्तुत गरिएको थियो |

नासोका महासचिव विष्णु विश्वकर्माले संचालन गरेको आजको कार्यक्रममा सचिव हिक्मत विकले स्वागत गर्नु भएको थियो भने कोषाध्यक्ष दुर्गा विकले भूकम्प पीडितका लागि संकलन गरिएको सहयोगको बारे विस्तृत जानकारी दिनुभयो | कार्यक्रमको अन्तमा नासोका तर्फबाट विक्रम पोखरेलले सबैलाई धन्यवाद दिनु भएको थियो |

ग्लोब नेपाल बाट

प्रतिक्रिया