जुम्ला, २५ साउन । कर्णाली स्वायत्त प्रदेशको माग गरिरहेको संयुक्त सङ्घर्ष समिति जुम्लाले आज गरेको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड भएको छ ।
तोडफोडबाट प्रशासन कार्यालयको भवनमा आंशिक क्षति पुगेको छ भने अञ्चल तथा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको गाडीमा तोडफोड गरिएको छ ।
प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा दुईजना आन्दोलनकारी पनि घाइते भएका छन् ।
आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड अश्रुग्यास र तीन राउन्ड हवाई फायर गरेको थियो ।
आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालय, डिभिजन सडक कार्यालय, जिल्ला विकास समितिको कार्यालय, जुम्ला बहुमुखी क्याम्पसमा समेत ढुङ्गामुढा गरेका थिए ।
जुम्ला विमानस्थलमा अवतरण गर्न लागेको हेलिकप्टरमा समेत ढुङ्गामुढा भएपछि हेलिकप्टर अञ्चल प्रहरी कार्यालयमा अवतरण गराइएको थियो ।
अहिले जिल्लामा सुरक्षा समितिको बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले जानकारी दिनुभयो । जुम्ला सदरमुकाम खलङ्गा बजार बन्द रहेको छ ।
प्रतिक्रिया