पाउडर प्लान्टको उत्पादन क्षमता वृद्धि गर्ने तयारी

इनेप्लिज २०७२ साउन २५ गते ३:०४ मा प्रकाशित

पथरी (मोरङ), २५ साउन । मोरङको विराटनगरस्थित दुग्ध विकास संस्थानले सञ्चालन गरेको नेपालकै एक मात्र पाउडर प्लान्टको उत्पादन क्षमता वृद्धि गर्ने तयारी गरेको जनाएको छ ।

संस्थानका प्रमुख शत्रुधनप्रसाद साहका अनुसार सरकारले कृषि विकास मन्त्रालयमार्फत रु छ करोड दिएपछि प्लान्टको उत्पादन क्षमता बढाउने काम सुरु गरेको छ ।

सो प्लान्टले यतिखेर वार्षिक ५०० मेट्रिक टनसम्म दुग्ध पाउडर उत्पादन गर्दै आएको छ भने क्षमता वृद्धि गरेपछि सो प्लान्टले वार्षिकरुपमा एक हजार २०० मेट्रिक टन पाउडर उत्पादन गर्ने छ ।

सो उत्पादनले पूर्वाञ्चलमा मात्र नभएर काठमाडौँको मागलाई समेत धान्ने छ । काठमाडौँमा वार्षिकरुपमा एक हजार ४०० मेट्रिक टन पाउडरको माग रहे पनि संस्थानले भारतबाट वार्षिकरुपमा करोडौँ रुपैयाँको दुग्ध पाउडर खरिद गरेर माग पूरा गरिरहेको संस्थानका प्रमुख साह बताउनुहुन्छ ।

दुग्ध वितरण आयोजनाले पूर्वाअञ्चलका १६ जिल्लाबाट दैनिक ४२ हजार लिटर दुग्ध सङ्कलन गर्ने गर्दछ । आयोजनाले सङ्कलन गर्दै आएको दुग्धमध्ये १० देखि १५ हजार लिटर दुग्धबाट दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया