म्याग्दीमा दुई करोड राहत वितरण

इनेप्लिज २०७२ साउन २५ गते २:३० मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), २५ साउन । म्याग्दी जिल्लाका विभिन्न पीडितलाई करिब रु दुई करोड राहत रकम वितरण गरिएको छ ।

गत आव २०७१/७२ मा जिल्ला प्रशासन कार्यालय म्याग्दीद्वारा विभिन्न शीर्षकमा पीडितलाई राहत रकम वितरण गरिएको हो ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयको राहत तथा पुनःस्थापना एकाइ बबरमहल काठमाडौँबाट मृतक र बेपत्ता भएकाको हकदार तथा परिवारलाई प्राप्त कुल रु एक करोड ८० लाखमध्ये विभिन्न ८७ जना द्वन्द्वपीडितलाई प्रतिव्यक्ति रु दुई लाखका दरले कुल रु एक करोड ७६ लाख राहत रकम उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । यसमध्ये रु चार लाख फ्रिज भएको छ ।

त्यसैगरी जीवन अङ्गभङ्ग भएका पाँच जनालाई मासिक रु छ हजार २०० का दरले रु चार लाख ४६ हजार ४००, अभिभावकविहीन चार जना बालबालिकालाई मासिक रु पाँच हजारका दरले रु दुई लाख वितरण गरिएको कार्यालयका लेखापाल त्रिविक्रम शर्माले जानकारी दिनुभएको छ ।

त्यस्तै गएको वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक क्षति बेहोरेका ५२८ जना पीडितलाई गृह मन्त्रालयबाट प्राप्त र जिल्लामा सङ्कलन गरिएको राहत रकमबाट क्रमशः रु १० हजार र पाँच हजारका दरले राहत रकम प्रदान गरिएको उहाँले बताउनुभयो ।

यसैगरी पूर्ण र आंशिक क्षति बेहोरेका ५९ जना पहिरोपीडितलाई रु दुई लाख ३५ हजार, पूर्ण, मध्यम र सामान्य अवस्था हेरी १७ जना आगलागीपीडितलाई न्यूनतम रु तीन हजारदेखि २० हजारसम्म गरी रु एक लाख ४० हजार वितरण गरिएको छ ।

यस्तै चट्याङ लागेर मृत्यु भएका एक जनालाई रु ४० हजार र क्षति बेहोरेका दुई जनालाई रु आठ हजार गरी रु ४८ हजार वितरण गरिएको बताइएको छ भने हुरी बतासबाट क्षति बेहोरेका १० जनालाई रु पाँच हजारका दरले रु ५० हजार गरी कुल रु २३ लाख ३३ हजार राहत वितरण गरिएको थियो ।

गएको वर्षमा जिल्लाभरका द्वन्द्वपीडित, अङ्गभङ्ग, भूकम्प, बाढीपहिरोलगायत प्राकृतिक प्रकोपबाट क्षति बेहोरेका ७१३ जना पीडितलाई कुल रु एक करोड ९९ लाख ३३ हजार राहत रकम वितरण गरिएको लेखापाल शर्माको भनाइ रहेको छ ।

प्रतिक्रिया