पाल्पा दरबार सङ्ग्रहालय बन्ने

इनेप्लिज २०७२ साउन २५ गते २:०३ मा प्रकाशित

Palpa_20130620090648पाल्पा, २५ साउन । पाल्पाको ऐतिहासिक थलो तानसेनस्थित ‘पाल्पा दरबार’ अब सङ्ग्रहालय बन्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले सात कर्मचारीको दरबन्दी स्वीकृत गरेपछि सङ्ग्रहालय बन्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाको सर्वपक्षीय भेलाले एक महिनाभित्र दरबार क्षेत्र निर्धारण गर्ने कार्यदल गठन गरेको छ । झन्डै ११० वर्ष पुरानो सुन्दर र काष्ठकलायुक्त ऐतिहासिक पाल्पा दरबारको पुरानै शैलीमा निर्माण गरिएको थियो ।

दरबारमा चार तला, चार वटा वुर्जा, दुई वटा बैठक कक्ष, ६७ वटा कोठा रहेकोे छ । विसं २०६२ मा तत्कालीन माओवादी आक्रमणमा दरबार पूर्णरुपमा ध्वस्त भएको थियो । विसं १९६३ मा तत्कालीन जनरल प्रताप शमशेरले दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि सो दरबार निर्माण गराएका हुन् ।

राणा शासनको अन्त्य पछि २०१५ सालदेखि ऐतिहासिक दरबारलाई तत्कालीन सरकारले सरकारी कार्यालयका रुपमा परिणत गरेपछि करिब एक दर्जन कार्यालय रहँदै आएका थिए ।

निर्माण प्रक्रियामा पुरानो दरबारका जस्तै काठ, इट्टा, रङ्गरोगन पुरातात्विक महत्वका वस्तु नभत्काइ राष्ट्रिय भवनको गुरुयोजना पद्धतिअनुसार दरबार निर्माण भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।

दरबार ध्वस्त भएपछि जिल्ला प्रशासन, जिल्ला विकास समिति र राष्ट्रिय अनुसन्धान कार्यालयले परिसरभित्रै टहरा निर्माण गरी कार्यालय सञ्चालन गरेका छन् ।

प्रतिक्रिया