ताप्लेजुङ, २४ साउन । ताप्लेजुङमा यस वर्ष आधा दर्जन बढी गाविस न्यूनतम सर्त तथा कार्यसम्पादन मापन मूल्याङ्कन (एमसिपिएम) मा असफल भएका छन् ।
जिविसका अनुसार जिल्लाका आठवटा गाविस एमसिपिएममा असफल भएका हुन् । असफल हुने गाविसहरुमा पूर्वका खेबाङ, मामांखे, तेल्लोक, कालीखोला, फावाखोला, चाक्सिबोटे, पेदाङ र पश्चिमी गाविस खोक्लिङ रहेको छ । एमसिपिएममा क्षेत्र नं २ अन्तर्गतका गाविस बलियो देखिएका छन् ।
एक नगरपालिकासहित ४८ गाविसमध्ये बाँकी अन्य ४० वटा भने सफल भएका छन् । एमसिपिएममा असफल भएका गाविसले कानुन तथा निर्देशिकाले तोकेको मापदण्ड बमोजिम समयमै कार्यसम्पादन गर्न नसक्नु रहेको निमित्त स्थानीय विकास अधिकारी दुर्गा श्रेष्ठले बताउनुभयो ।
एउटै सचिवले दुई÷तीनवटासम्म गाविस हेर्नु, भौगोलिक विकटता र गाविसमा समयमै सूचना प्रवाह नहुनुका कारण एमसिपिएममा असफल भएको श्रेष्ठले बताउनुभयो । एमसिपिएममा ७१ अङ्क ल्याएर ताप्लेजुङ देशभरमा आठौँ भएको छ ।
कानुन तथा निर्देशिकाअनुसार सहभागितात्मक गाविस योजना तर्जुमा, निकासा तथा खर्च, लक्षित समूह र क्षेत्र विकास कार्यक्रमको बजेट विनियोजन र खर्च, आय व्ययको विवरण सार्वजनिक, सामाजिक सुरक्षा कार्यक्रम, व्यक्तिगत घटना दर्ता अभिलेख, गाविसको वस्तुस्थिति विवरण, नागरिक बडापत्र, सार्वजनिक परीक्षण, जाँचपास फरफारक, आन्तरिक स्रोत व्यवस्थापन, सार्वजनिक सुनुवाइ, पेस्की र बेरुजु फछ्र्योटलगायतका आधारमा न्यूनतम सर्त तथा कार्यसम्पादन मापन मूल्याङ्कन हुने व्यवस्था रहेको छ ।
प्रतिक्रिया