संविधानको मस्यौदामा सहमत भएनन् राप्रपा नेपाल

इनेप्लिज २०७२ साउन २४ गते १२:१८ मा प्रकाशित

RPPN-काठमाडौँ, २४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानको मस्यौदामा जनताको भावना नसमेटिएकामा असहमति जनाउँदै संविधानसभामा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।

सो पार्टीको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले संविधानको मस्यौदामा सहमति नरहेको निष्कर्ष निकालेको छ ।

सो पार्टीले मस्यौदाप्रतिको असहमतिलाई दर्शाउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा फरक मत दर्ता गराइसकेको जनाएको छ ।

राप्रपा नेपालले संवैधानिक राजतन्त्र, धर्म, गणतन्त्र र सङ्घीयताको विषय जनमत सङ्ग्रहबाट छिनोफानो गरिनुपर्ने भनाइ राख्दै आएको छ ।

प्रमुख चार दलका नेताहरु सम्मिलित विशेष समितिले तयार गरेको संविधानको मस्यौदाले मुलुकमा राजनीतिक स्थायित्व र शान्ति ल्याउन नसक्ने ठहर सो पार्टीले गरेको छ ।

पार्टीका अध्यक्ष कमल थापाले बैठकपछि हिन्दू धर्मलगायतका एजेन्डालाई सुनिश्चित गर्न आगामी २५ गतेदेखि पार्टीले सशक्त अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।

सो पार्टीका प्रमुख सचेतक तिलनाथ गिरीले अहिले कोरिएको प्रदेशको सीमाङ्कन मुलुकको हितमा नरहेको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया