मौरीको आम्दानीले दश रोपनी जग्गा !

इनेप्लिज २०७२ साउन २४ गते १२:०६ मा प्रकाशित

honey-beeइलाम, २४ साउन । व्यावसायिक रुपमा मौरीपालन गर्दै आउनुभएका सिद्धिथुम्का–३ का तेजराम न्यौपानेले मौरीपालनबाट मनग्य आम्दानी लिइरहनुभएको छ ।

विसं २०५८ देखि उहाँले मौरीपालनलाई व्यावसायिक रुपमा अघि बढाउन थाल्नुभएको हो । मुढेघारमा मौरीपालन गरेको देखेपछि त्यसैबाट प्रभावित भएर उहाँले व्यवसाय थाल्नुभएको हो । विसं २०५५ मा काठमाडौँको गोदावरीमा गएर मौरीपालनसम्बन्धी तालिम लिएपछि न्यौपानेलाई मौरीपालनसम्बन्धी थप हौसला मिलेको हो । तालिम लिएपछि व्यावसायिक बन्न थप टेवा पुगेको उहाँको भनाइ छ ।

न्यौपानेले मौरीको मह, गोला, घार र घारसहितको गोला बिक्री गर्नुहुन्छ । बाह्र वटा घारमा मौरीपालन गर्दै आउनुभएका उहाँले वार्षिक ८० देखि एक सय किलोसम्म मह उत्पादन गर्दै आउनुभएको छ । मह किन्न ग्राहक उहाँको घरसम्म पुग्ने गरेका छन् । “प्रतिकिलोको रु एक हजार पर्छ” उहाँले भन्नुभयो ।

मौरीको मह, गोला र घार बिक्री गरेर वार्षिक रु एक लाख ५० हजार आम्दानी गर्ने गरेको र त्यही आम्दानीले चारजना छोराछोरीलाई पढाउँदै गरेको न्यौपाने बताउनुभयो । मौरीबाट भएको कमाइले उहाँले १० रोपनी जमिन समेत जोड्नुभएको छ । मौरीपालन व्यवसायबाट एक दशकमा रु १३/१४ लाख आम्दानी भएको छ ।

पहिले ३० देखि ४० घारसम्म मौरी पाल्दै आउनुभएका न्यौपाने पछिल्लो समय फलफूल, जडीबुटी नर्सरीतर्फ लागेकाले मौरी घट्दै गएको बताउनुहुन्छ । उहाँले घर वरपर फलफूलका नर्सरी गरेर बिरुवासमेत बिक्री गर्दै आउनुभएको छ । “नर्सरीपछि घार विस्तार गर्ने सोचमा छँु” उहाँले भन्नुभयो ।

मौरीपालनका लागि खासै ठूलो लगानीसमेत गर्नु नपर्ने मौरीपालन गर्दै आउनुभएका सिद्धिथुम्का– ३ कै कृष्ण रिसाल बताउनुहुन्छ । उहाँले वार्षिक एक क्विन्टलभन्दा बढी मह बिक्री गर्नुहुन्छ ।

तोरी फुल्ने मौसममा मौरीले अत्यधिक मह लगाउने गर्छ । त्यतिबेलाको मह अरुबेलाको भन्दा धेरै राम्रो हुने गरेको रिसालले बताउनुभयो । जिर्मले–२ का देवराज खनाल, कुमार मोक्तान तथा इरौैटारका पूर्णबहादुर राईले पनि मौरीपालन व्यवसायबाट मनग्य आम्दानी लिइरहनुभएको छ । जिर्मले, इलाम नगरपालिका, सिद्धिथुम्का, फाकफोक, बरबोटे, श्रीअन्तु, समालबुङलगायतका गाविसमा व्यावसायिक रुपमा मौरीपालन गरिँदै आएको छ ।

गत वर्ष २४.२५ मेट्रिक टन मह उत्पादन भई १९ मेट्रिक टन बिक्री गरी किसानले रु एक करोड ५२ लाख आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले जानकारी दिनुभयो ।

प्रतिक्रिया