हामीलाइ यौन शिक्षा विस्तारमा दिइदैन

इनेप्लिज २०७२ साउन २३ गते १०:५० मा प्रकाशित

gyanendra-mallaक्यालिफोर्नियाकी नुमा लिम्बु मिस भुटान युएसए–२०१५ का विजेता हुन् । लिम्बु पेसाले ब्युटिसियन हुन् । दोस्रो संस्करणका विजेता लिम्बुसँग एभरेस्ट टाइम्सका ङिमा पाख्रिनले गरेको कुराकानीको सम्पादित अंशः

ताज पहिरिदै गर्दा सबैभन्दा पहिले कसलाई सम्झनुभयो ?

वुबाको मुख हेर्ने दिन भएकोले बुवाको धेरै सम्झना आएको थियो ।

ताज पहिरेपछि कस्तो लाग्यो ?

यो ठुलो सम्मान हो । त्यसैले खुसी लागेको छ । यसले मलाई व्यक्तिगत र समाजिक रुपमा थप विश्वसनीयका साथ काम गर्न उत्साह मिलेको छ । जीवनमा अघि बढ्न यो सम्मानले सघाउनेछ भन्ने विश्वास लागेको छ ।

अब के गर्ने योजना गर्नुभएको छ ?

हालै रिवार्ड नेपाल ग्लोबल इनिसियाटिभको संयोजकत्वमा नेपालको भूकम्प पीडितहरुको लागि फन्ड रेजिङ प्रोग्रामहरुमा लागी रहेकी छु । समय र परिस्थिति मिल्यो भने समाजसेवा मुलक क्रियाकलापमा भाग लिने विचार गरेकी छु ।

भुटानी समुदाय आफ्नै देशबाट पीडित छन्, तपाई यो समस्यासँग जुध्न के गर्नुहुन्छ ?

मेरो विचारमा कुनै पनि समस्यको पूर्ण समाधान हुदैन । तर, समस्याहरुको हल भनेको नभागी, समाजका सबै वर्गहरु मिलेर छलफल गरी काम गर्ने हो भने ती समस्याको धेरै न्युनीकरण हुन सक्छ ।

‘हिमालयन फेस्टिभल’मै ताज पहिरिनुभयो, हिमालयन संस्कृतिलाई फैलाउन केही योजना बनाउनु भ्याउनुभयो कि ?

सर्वप्रथम हाम्रो संस्कृति, रीतिरिजाज भेषभुषाबारे आफ्नो घरपरिवार, इष्टमित्रलाई परिचय गराउनुपर्छ । म चाहि अमेरिकामा रहेका सबै नेपाली समुदायसँग मिलेर विभिन्न चेतनामुलक कार्यक्रम गरी संस्कृति आदानप्रदन गर्ने वातावरण सिर्जन गर्न कोशिश गर्नेछु भन्ने विचार गरेकी छु ।

यो युगमा हिमालयन संस्कृति कतिको महत्पूर्ण छ ?

संसारको जुनसुकै ठाउँ र समयमा भएता पनि एउटा मनिसको परिचय उसको संस्कृतिले झल्काउँछ । त्यसैले आफ्नो संस्कृतिलाई महत्वको साथ अझ अघि बढाउनुपर्दछ ।

हाम्रो संस्कृतिमा तपाईको उमेरका युवतीहरुलाई परिवारमा कतिको कडाइ गरिन्छ ?

स्पष्ट कुरा, हाम्रो उमेरका युवायुवतीहरु परिवारमा अलि कडाइ नै हुन्छ । यसको मतलब, पारिवरिक बाध्यतामा हुर्किन्छन् । अहिलेको २१ औं शताब्दीमा परिवारको हेर्ने सोच विचार र दृष्टिकोणमा केही हदसम्म परिवर्तन भएको छ । यसो भन्दै गर्दा युवायुवतीहरु अघि बढ्न परिवारको धेरै नै साथ र सहयोग आवश्यक छ ।

हिमालयन संस्कृतिमा युवायुवतीलाई यौन शिक्षा दिइन्छ कि दिइदैंन र यो कतिको महत्वपूर्ण छ ।

हाम्रो संस्कृतिमा युवायुवतीलाई यौन शिक्षा त्यति विस्तारमा दिइदैन । यौन मानिसलाई अति आवश्यक कुरा हो । युवायुवतीमा यौनको जिज्ञासा प्रायः सबैलाई हुन्छ र यौन शिक्षाले सकरात्मक परिवर्तन लिन सक्ने मेरो धारणा छ ।

तपाईं आफ्नो मनको कुरा कसलाई सुनाउनुहुन्छ ?

 

आमालाई भन्ने गर्छु । मेरो सबैभन्दा मिल्ने साथी नै आमा हो ।

ताज पहिरिनुअघिको नुमा र ताज पहिरेपछिको नुमामा के फरक छ ?

पहिलेको नुमा लिम्बु र अहिलेको नुमामा केही फरक छैन । फरक यति मात्र हुने छ कि अहिलेको नुमा समाज, संस्कृति र मानवताका लागि जिम्मेवारी बढेको छ र व्यवहारिक रहने छ ।

सुन्दरी प्रतियोगिताका विजेताहरु प्रायः समाजसेवामा लाग्छन्, समाजसेवामार्फत भुटानी डायस्पोरालाई सघाउने विचार गर्नुभएको छ ?

पक्कै पनि । म यस समुदायमा शिक्षाअविवृद्धि, स्वास्थ्यसम्बन्धी विषयहरु, र हाम्रो समुदायका आवश्यकताहरुमा सघाउने लागि पर्नेछु ।

तपाईले यस्ता प्रतिस्पर्धाबाट व्यक्तिगत रुपमा र भुटानी समुदायमा के फाइदा देख्नुभयो ?

हामी जस्ता युवतीका लागि यस्तो प्रतिस्पर्धा ठुलो स्टेज हो । यहाँ हामी हाम्रा प्रतिभाहरु प्रदर्शन गर्न सक्छौं । त्यसैगरी यो भुटानी–अमेरिकी समुदायको सौन्दर्य प्रदर्शन पनि हो । यसले भोलिका दिनमा दिदीबहिनीलाई थप प्रोत्साहन दिनेछ । त्यसैले यो व्यक्तिगत रुपमा मात्र नभइ समुदायिक रुपमै महत्वपूर्ण छ ।

प्रतिक्रिया