रूसमा क्रिश्चियन धर्मका प्रवर्तक सन्त–राजा भ्लादिमिरको सहस्त्राब्दी स्मृतिदिवस

इनेप्लिज २०७२ साउन २२ गते २१:५७ मा प्रकाशित

Pujapasth. Patriarcha Kirillगतः २८ जुलाई (सन् २०१५, मंगलवार) का दिन रुसलाई क्रिश्चियन धर्ममा दीक्षित गर्ने प्राचीन किभेली रुसका राजा भ्लादिमिरको देहावसान तथा सन्तको उपाधि वरणको एक हजार वर्ष पूरा भएको उपलक्ष्यमा रुसका सबै चर्चहरुमा पूजापाठसहित भव्य उत्सव मनाइएको थियो । रुसको राजधानीस्थित संरक्षक यिशुख्रिष्ट मन्दिर (रूसी भाषामा ‘ख्राम ख्रिष्टा स्पासितेल्या’) भनिने प्रमुख गिर्जाघर नै यस परिघटनाको मुख्य केन्द्र बनेको थियो । त्यहाँ मास्को र सम्पूर्ण रुसका पैट्रिआर्क किरिल्लको अगुवाईमा सम्पन्न गरिएको अढाई घन्टासम्म चलेको भव्य पूजापाठमा विश्वभरि कार्यरत रूसी अर्थाडक्स चर्चका १५ वटै शाखाका धर्माधिकारीहरुको समुपस्थिति रहेको थियो । त्यस धार्मिक अनुष्ठानमा रूसका प्रमुख धर्माधिकारी पैट्रिआर्क किरिल्लबाट रूसमा किश्चियन धर्मको एक हजार वर्षको इतिहासको सारसंक्षेप प्रस्तुत गर्दै दिइएको प्रभावोत्पादक प्रवचनमा पवित्र रूसको अवधारणा उजागर गरेर एउटै अर्थाडक्स चर्चका अनुयायी मात्र नभई प्राचीन स्लाभ जातिका साझा सन्तति समेत रहेका वर्तमान रूस महासंघ, बेलारूस गणतन्त्र तथा युक्रेन गणतन्त्रका क्रिश्चियन धर्माबलम्बी वासिन्दहरूलाई सम्बोधन गर्दै तीनै स्वधीन देशका बन्धु जनताहरूबीच पारस्परिक सद्भावनाको लागि आह्वान गरिएको थियो भने सन्त–राजा भ्लादिमिरको सहस्त्राब्दी स्मृतिदिवसको सन्दर्भमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा पठाइएको शुभेच्छासन्देश पनि पढेर सुनाइएको थियो ।

Isukhrista Mandir Moscowस्मरण रहोस्, प्राचीन रूसको राजधानी कीभका राजा भ्लामिमिर, उनको परिवारजन, भाइभारादार, अङ्गरक्षक योद्धा, हजारौ कीभवासीले सन् ९८८ मा एकैपल्ट नीपर नदीमा स्नान गरेर भिजान्टाइनका धर्माधिकारी मेट्रोपोलिट तथा पादरीहरुबाट क्रिश्चियन धर्ममा सामूहिक रुपमा दीक्षा ग्रहण गरेका थिए । त्यसै समयदेखि क्रिश्चियन धर्म कीभेली रुसको राजकीय धर्म बनेको थिया र पछि रूस साम्राज्यका साथै रूस, बेलारूस तथा युक्रेन पनि त्यसको उत्तराधिकारी बनेका थिए ।

vladimir-knyazहुन त सुरुमा पुरानै सनातन धर्ममा सुधार गर्ने प्रयास गरिएको थियो । कीभका राजा भ्लादिमिरले ६ वटा देवताहरुको षष्टायन स्थापना गरेर राजाका योद्धाहरुको संरक्षकको रुपमा पेरुनलाई रुसको सर्वोच्च देवता घोषित गरेका थिए । कीभमा राजदर्बारको नजिकै यी देवताहरुको मूर्ति स्थापना गरियो । तर यो धर्मसुधार अर्घेलो चरित्रको थियो र त्यसले कुनै सकारात्मक परिणाम दिन सकेन । यसरी सन् ९८० मा कीभका राजा भ्लादिमिरले पहिलोपल्ट धर्मसुधारको जुन प्रयास गरेका थिए सो विफल हुन गयो । अन्ततोगत्वा क्रिश्चियन धर्मलाई नै राजकीय धर्मको रूपमा ग्रहण गर्नु आवश्यक ठानियो ।

isukhrista Mandirके पनि बताइहालौं भने प्राचीन रूसअन्तर्गत वर्तमान रूस मात्र नभई बेलारूस र मालाया रूस अर्थात् वर्तमान युक्रेन समाविष्ट रहेको थियो । पूर्वी स्लाभजातिको बसोवासको यो विशाल प्रदेशको राजधानी कीभ भएको हुनाले यस क्षेत्रलाई कीभेली रुस भनिएको थियो । यसको केन्द्र कीभ (वर्तमान युक्रेनको राजधानी) मा रहेको थियो । क्रिश्चियन धर्मको पूर्वीय सम्प्रदाय अर्थात् अर्थाडक्स चर्चको तत्बकालीन केन्द्र कन्स्टान्टिनोपोल (वर्तमान इस्ताम्बुल) का धर्माधिकारी पैट्रिआर्कअन्तर्गत कीभ नै रुसी अर्थाडक्स चर्चको केन्द्र बन्यो । राजधानी नगर कीभमा चर्च र मोनेष्ट्रीहरु बनाइए र धर्माधिकारी एपिस्कोपको मुख्यालय पनि यहाँ नै रहेको थियो । यो नगर नै रुसी सभ्यताको उद्यगमस्थल हो । यसैउसले कीभलाई रुसका सबै सहरहरुको आमा अर्थात् आध्यनगर मानिन्छ ।

Vladimir. Rusko Isaikaran Drisyaख्रिष्टाब्दको आरम्भभन्दा पहिले अर्थात् ईशापूर्वतिर हाल रुसी, उक्राइनी तथा बेलारुसी भनिने तीनै जनजातिहरुको साझा पुर्खा पूर्वी स्लाभजातिको प्रसारक्षेत्र बाल्टिकसागरदेखि कृष्णसागरसम्म र कार्पात पर्वतदेखि ओका तथा भोल्गा नदीको प्रवाहक्षेत्रसम्म सुदूर पूर्वी युरोपको व्यापक भूभागमा पैmलिएको थियो । यसै भूखण्डमा नवौं शताब्दीको आरम्भतिर पूर्वी स्लाभजातिको निवासस्थलले रुस भन्ने नाउँ पाइसकेको थियो र यस विशाल क्षेत्रमा शक्तिशाली राज्यव्यवस्था देखापरेको थियो । त्यसको केन्द्र कीभमा भएको हुनाले त्यसले कीभेली रुस भन्ने नाम पाएको थियो । त्यतिञ्जलसम्ममा पूवी स्लाभजातिको साझा नृवंशात्मक नाम रुसी रहेको प्रतीत हुन्छ, किनभने निकै पछिसम्म पनि यी तीनै शाखाको जातिनाममा पनि रुस शब्दको अस्तित्व थियो ।

रुस भन्ने शब्दको उत्पत्ति ईशाको छैटौं शताब्दीदेखि अस्तित्वमा आएको थियो । सर्वप्रथम नीपर नदीको एक सहायक नदी रोसोको प्रवाहक्षेत्रमा बस्ने स्लाभ जातिका वासिन्दाहरुलाई रोस अथवा रुस भन्न थालिएको थियो । क्रमशः यस विशाल क्षेत्रका सबै स्लाभ जातिले आपूmलाई सयुक्त रुपमा यसै नामले चिनाउन थाले । प्राचीन कालदेखि नै सगोलमा रुसी भनिने जातिको बसोवासको विशालक्षेत्रको पश्चिमी खण्डलाई बेलोरुस (बेलाया रुस) भनिन्थ्यो र त्यस भूभागमा बस्ने बेलारुसी भनिन थाले भने दक्षिणपश्चिमको भूखण्डले मालोरुस (मालाया रुस) भन्ने नाउँ पायो र त्यहाँका वासिन्दा मालोरुसी भनिए । कालान्तरमा विशाल रुसको पुछारमा पर्ने प्रदेश भन्ने अर्थमा यस क्षेत्रलाई उक्राइना (शब्दशः किनाराको क्षेत्र) भन्न थालियो (अंग्रेजीमा हाल यो क्षेत्र युक्रेन भनिन्छ) र त्यहाँका वासिन्दा उक्राइनी (युक्रेनी) भनिएको प्रतीत हुन्छ, । यी दुवै क्षेत्रको मध्यवर्ती र पूर्वी भागमा पर्ने विशाल भूखण्ड नै खास रुस (वर्तमान रसिया) मानिएको थियो र रूस भन्ने नामले परिचित हुन गएको थियो भन्नु अत्युक्ति हुने छैन ।
कीभेली रूसका राजा भ्लादिमिरले किन नयाँ धर्म ग्रहण गर्नुपरेको थियो भन्ने पनि नेपाली पाठकवृन्दको जिज्ञासाको विषय हुन सक्तछ । विभिन्न प्रदेशहरुमा छरिएर रहेका स्लाभ जातिका मानिसहरुमा एकत्वको भावना बलियो तुल्याउनु तत्कालीन समयको माग बनिसकेको थियो । क्रिश्चियन धर्म ग्रहण गरिएपछि एउटै धर्मको बौद्धिक तथा राजनीतिक आधारमा बिस्तारै प्राचीन रुसका सम्पूर्ण जनसमुदायमा आत्मबोधको भावना जागृत भयो । एउटै ईश्वर नै सत्ताको मूल स्रोत हो भन्ने मान्यता प्रदान गरेर क्रिश्चियन धर्मले पहिले विभिन्न देवताहरूलाई मान्ने कीभेली रुसका वासिन्दाहरुको पारस्परिक सम्बन्धलाई पनि जब्बर तुल्याइदियो । क्रिश्चियन धर्म ग्रहण गरेपछि मध्ययुगीन ईसाई धर्माबलम्बी छिमेकी राज्यहरुमा रुसले पनि सम्मानजनक स्थान प्राप्त गरेको थियो र यसले गर्दा तत्कालीन विश्वमा रुसको स्थिति दरिलो हुन गयो ।
राजा भ्लादिमिरले नयाँ धर्मको चयन कसरी गरेका थिए भन्ने विषयमा ‘समयसालको कथा’ मा एउटा रोचक आख्यान समावेश गरिएको छ । उनले धर्मको चयन गर्न देशदेशान्तरमा मानिसहरू पठाएका थिए र विभिन्न धर्मका दूतहरूले राजालाई आफ्नो धर्म ग”हण गर्न सुझाएका थिए । तर उनले पाश्चात्य अर्थात् क्याथेलिक क्रिश्चियन धर्म, यहूदी धर्म र इस्लाम धर्मलाई अस्वीकार गरेर पौरस्त्य अर्थात् भिजेन्टाइनी पाराको अर्थाडक्स क्रिश्चियन धर्मलाई रोजेका थिए । पहिलेदेखि नै भिजान्टाइनसित कीभेली रुसको व्यापारिक, सांस्कृतिक र वंशानुगत सम्बन्धले गर्दा राजाको यस रोजाइमा निर्णायक प्रभाव पारेको ठम्याउन सकिन्छ ।
राजा भ्लादिमिरकी हजुरआमा रानी ओल्गा नै रुसमा सर्वप्रथम क्रिश्चियन धर्ममा दीक्षित महिला थिइन् । बहुदेववादी सनातन धर्मको बोलबाला रहेको प्राचीन रुसमा सर्वप्रथम कीभमा नै धर्मप्रचारक इल्याप्रति समर्पित क्रिश्चियन मन्दिर बनाइएको थियो भनी त्यतिखेर ऐतिहासिक घटनावलीको रुपमा लेखिने ‘वर्षावली’ मा जनाइएको पाइन्छ । कुन तथ्य पनि कम महत्वपूर्ण छैन भने रुसको इसाईकरणभन्दा पहिले कोर्सुनी भन्ने शहरमा राजा भ्लामिमिर र भिजेन्टाइनकी राजकुमारी आन्नाको बीचमा वैवाहिक सम्बन्ध जोडिएको थियो । राजा भ्लादिमिरले आपूmले क्रिश्चियन धर्ममा दीक्षा लिनुका साथै आप्mना परिवारजन, भाइभाररादार, योद्धा र कीभवासीहरुलाई पनि नयाँ धर्ममा दीक्षित गराएर पहिले आपैmलै स्थापना गरेका पेरुन र अन्य देवताहरुका मूर्तिहरु ढालेर नदीमा बगाइदिएका थिए । यो धर्मपरिवर्तनपश्चात् कीभबाट नयाँ धर्म बिस्तारै प्राचीन रुसका अन्य भूभागमा पनि पैmलियो । यो प्रक्रिया एकै दिनमा सम्पन्न भएको थिएन र कतै कतै त बलप्रयोग गरेर पनि धर्म–परिवर्तन गराइएको थियो ।
स्मरणीय के पनि छ भने पूर्वी स्लाभ जातिअन्तर्गत रुसी, उक्राइनी र बेलारुसी जनजातिहरु पर्दछन् । यिनै तीन जनजातिहरुबाट पूर्व सोभियत संघको जनसंख्याको ७० प्रतिशत थियो । बहुजातीय तथा बहुभाषिक वर्तमान रुस महासंघको जनसंख्याको अधिकतम हिस्सा पनि रुसी जातिकै छ । सोभियत संघको विघटनभन्दा पहिलेसम्म रुस, उक्राइना र बेलारुस एउटै स्भालजातिका तीन दिदीबहिनी मानिएका थिए । क्रिश्चियन धर्मको अर्थाडक्स शाखाले मात्र नभई भाषिक साम्यताले समेत उनीहरुलाई जोडेको थियो । पहिले जारकालीन रुस साम्राज्यअन्तर्गत एकढिको रुपमा रहेका यी तीनै प्रदेशले सोभियत संघको अस्तित्वका साथै संघीय गणराज्यको रुपमा किंचित स्वतन्त्र राज्यसत्ता र निकै हदसम्म सबल अर्थतन्त्र हासिल गरेका थिए भन्नुपर्दछ । सोभियत संघको विघटनमा यी तीनै राज्यको अग्रगण्य भूमिका रहेको सर्ववीदितै छ र सोभियत संघको विघटनपश्चात् सन् १९९१ मा मात्र १५ वटै संघटक एकाईका साथै यी तीनै गणराज्यहरुले पनि स्वाधीन गणतन्त्रको मान्यता प्राप्त गरेका थिए ।
प्राचीन रुसमा राजकीय धर्मको रुपमा क्रिश्चियन धर्म ग्रहण गरिनु अत्यन्तै महत्वपूर्ण घटना थियो । यसै युगान्तकारी घटनाको सम्झनामा कीभेली रूसका प्रतापी राजा भ्लादिमिरको देहावसारपश्चात् उनलाई सन्तको मान्यता प्रदान गरिएको थियो । एक हजार वर्षको लामो इतिहास बोकेको नयाँ रूसमा हाल हरेक वर्ष २८ जुलाईका दिन धार्मिक उत्सव मनाउने परम्परा बसेको छ । यस साल क्रिश्चियन धर्मका प्रवर्तक सन्त–राजा भ्लादिमिरको सहस्त्राब्दी स्मृतिदिवसलाई रुसको ईसाईकरण दिवसको रुपमा पनि मनाइएको छ ।
दिनाङ्क ः २८ जुलाई २०१५ (मङ्गलवार),
मास्को, रूस महासंघ ।

प्रतिक्रिया