सोमबार, जेठ ९ २०७९
काठमाडौं ०१:२३
वासिङटन डिसी 15:38

अरनिको राजमार्ग खुलाउने कार्य सम्पन्न

इनेप्लिज २०७२ साउन २१ गते १३:४९ मा प्रकाशित

काठमाडौं, २१ साउन । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको तातोपानी–खाडीचौरका विभिन्न स्थानमा पहिराले अवरुद्ध करिब ३६ किमि सडकखण्ड खुलाउने काम सम्पन्न भएको छ ।

भूकम्प तथा त्यसपछिको अविरल वर्षाले नेपाल–चीन जोड्ने सो खण्ड चिनियाँ सशस्त्र प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीको सहकार्यमा लक्षित समय अगावै पूरा भएको हो ।

नेपाली सेनाको नेतृत्वमा चिनियाँ सशस्त्र प्रहरीको इन्जिनियरिङ टोली र नेपाल सरकारका अन्य सुरक्षा निकायलाई समेत समन्वय गरी यही साउन १६ गतेदेखि काम थालिएको थियो ।

चीनबाट १९ इन्जिनियरिङ इक्विपमेन्ट र २० सपोर्टिङ इक्विप्मेन्ट प्रयोग गरी १५ दिनको लक्ष्य लिइएकामा निरन्तर प्रयासबाट पाँच दिनमै राजमार्ग खुलाउन सफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । चीनले नेपाली सेनालाई प्रदान गरेको ५०० पाल ढुवानी गर्नका लागि नेपाली सेनाको २७ ट्रक आजै तातोपानीतर्फ प्रस्थान गरेको छ ।

सडक सञ्चालन भई सार्वजनिक सवारी साधन चल्न सक्ने अवस्था सिर्जना भएकाले स्थानीय जनता लाभान्वित हुनाका साथै दुई देशबीचको व्यापारिक गतिविधिमा समेत मद्दत पुग्ने जनाइएको छ ।

यस प्रकारको सहकार्य तथा सहयोगबाट दुई राष्ट्रबीच रहँदै आएको मित्रवत् सम्बन्ध अझ बढी प्रगाढ र सुमधुर हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया