सामुदायिक वनद्वारा उपभोक्तालाई ग्यास वितरण

इनेप्लिज २०७२ साउन २० गते १४:२५ मा प्रकाशित

gas-silinder-two-colourकाँकडभिट्टा (झापा), २० साउन । झापाको बुधबारेस्थित नमुना सामुदायिक वन कार्यालयले आफ्ना उपभोक्तालाई एलपी ग्यासको सिलिन्डर र गोबर ग्यास वितरण गरेको छ ।

सामुदायिक वनले रु एक लाख ५९ हजार ५०० बराबरको २१ जनालाई एलपी ग्यासको चुल्हो र सिलिन्डर तथा रु ९७ हजार ५०० बराबरको १५ जनालाई गोबर ग्यास वितरण गरेको हो । सामुदायिक वनले आव २०७१÷७२ को बजेटबाट उपभोक्तालाई ग्यास वितरण गरेको नमुना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तिलक रिजालले बताउनुभयो ।

वन विनास कम गर्न वैकल्पिक ऊर्जा कार्यक्रमअन्तर्गत गोबर ग्यास र सिलिन्डर वितरण गरेको रिजालको भनाइ छ । सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा उपभोक्तामध्ये १०४ जना सदस्यले सिलिन्डर र २१ जनाले गाबर ग्यासका लागि निवेदन दिएका थिए । तीमध्ये १५ जनाले गोबर ग्यास र २१ जनाले मात्र सिलिन्डर ग्यास पाएको अध्यक्ष रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक उपभोक्तालाई वनले वार्षिक चार क्विन्टल दाउरासमेत उपलब्ध गराउँदै आएको छ ।

यसैवीच भारतीय प्लास्टिकजन्य वस्तुलाई निरुत्साहित गर्न र स्थानीयस्तरमा उत्पादन हुने कच्चा पदार्थलाई खेर जान नदिने उद्देयश्यले सञ्चालनमा आएको दुनाटपरी उद्योग विद्युत् अनियमितताका कारण सङ्कटमा परेको छ ।

नेपाल सुपारीखेती विकास संस्थाको सहयोगमा सात महिनाअघि झापा बुधबारे–५ का नारायण रिजालले भारतको कोलाम्पुरबाट रु २० लाखमा सुपारीको खबटाद्वारा दुनाटपरी बनाउने मेसिन खरिद गरेर ल्याउनुभएको थियो । दैनिक हुने विद्युत् भार कटौतीबाहेक पनि विद्युत् आपूर्ति नियमित नहुँदा उत्पादनमा समस्या परेको उद्योग सञ्चालक माधवप्रसाद रिजालले बताउनुभयो ।

“मेसिन तताउन एक घन्टा लाग्छ, अर्को घन्टामै विद्युत् गइहाल्छ”, उहाँले भन्नुभयो, “फेरि तताउन धेरै समय लाग्छ ।” विद्युत् अनियमितताकै कारण हाल नोक्सानी व्यहोरिरहेको उहाँको भनाइ छ । तीन वटा मेसिनद्वारा एकैसाथ सुपारीको खबटाद्वारा प्लेट उत्पादन हुने गरेको छ । उद्योगमा हाल सानाठूला गरी छ प्रकारका प्लेट बनाइन्छ ।

सुपारी खेतीका लागि उर्भर भूमि भनेर चिनिने बुधबारेमा सुपारीको खबटा किसानले घरमै ल्याइदिने गरेको रिजालले बताउनुभयो । उहाँले प्रतिकिलो छ रुपैयाँका दरले सुपारीका छबटा किन्ने गरेको बताउनुभयो । यतिबेला रिजालको घरमै पूजाका लागि भनेर प्लेट लिन ग्राहक आउने गरेका छन् । उहाँले प्रशस्त उत्पादन गर्न नसकेका कारण बजारमा प्लेट पठाउन नसकेको बताउनुभयो ।

“ग्राहकको मागलाई धान्न नसक्ने डरले बजार लगेका छैनौँ । चाँडै विद्युत्को वैकल्पिक व्यवस्था गरेर उत्पादन बढाएपछिमात्र बजार लैजान्छौँ” उहाँले भन्नुभयो । हाल उद्योगमा दुई जनामात्र कर्मचारी रहेपनि चाँडै तीन जना कर्मचारी थप गरिने उहाँले बताउनुभयो । सुपारीको प्लेट बजारमा लैजानेबित्तिकै भारतीय प्लास्टिकजन्य प्लेट विस्थापित हुने उहाँले दाबी गर्नुभयो । “प्लेट प्रयोगपछि मलमा परिणत हुन्छ” उहाँले भन्नुभयो ।

यतिबेला उद्योगले दैनिक २०० मात्र प्लेट उत्पादन गर्ने गरेको छ । दैनिक १२ घन्टासम्म मेसिन चलाउनसके ६०० बढी प्लेट उत्पादन गर्न सकिने रिजालको भनाइ छ ।

प्रतिक्रिया