कञ्चनपुर, २० साउन । कञ्चनपुरको देखतभूली आन्ध्राजाला मुक्त कमैया शिविरका दुई दर्जनभन्दा बढी परिवार बाढीको उच्च जोखिममा परेका छन् ।
स्याली नदीमा आउने बाढीले मुक्त कमैया परिवारको जग्गा धमाधम कटान गरी बगाउन थालेपछि मुक्त कमैया परिवार नदीको उच्च जोखिममा परेका हुन् । मुक्त कमैया परिवारलाई पुनः स्थापना गर्दा पाइएको पाँच कट्ठा जग्गामध्ये नदीले प्रतिपरिवारको तीन कट्ठा बढीका दरले छ बिघा बढी जग्गा बगाएर बगरमा परिणत गरेको छ ।
पाँच वर्षको अवधिमै यहाँ बसोबास गर्दै आएका चार दर्जन परिवार नदीले जग्गा कटान गर्दा विस्थापनमा परेका छन् । विस्थापनमा परेका केही परिवारलाई पुनः स्थापना गरिए पनि केही परिवार नजिकैका सामुदायिक वनमा झोपडी बनाएर बस्दै आएका छन् । अझै नदीले जग्गा कटानको कार्य जारी राखेकाले २५ भन्दा बढी परिवार नदीको उच्च जोखिममा रहेका छन् ।
विसं २०५९ मा पुनः स्थापन गरिएका यहाँका मुक्त कमैया परिवारको जग्गा नदीले २०६५ सालदेखि कटान गर्न सुरु गरेको हो । मुक्त कमैैया शिविरमा रहेको मिलन प्राविको भवनसहितको जग्गा गत वर्ष नदीले कटान गरी बगाएको थियो । पानी पर्न सुरु भएपछि नदीको डरले घर छाडेर बालबालिकासहित पूरै परिवार खुलाआकास नजिकैको राजमार्गमा बसेर रात काट्नुपर्ने बाध्यता भएको स्थानीयवासी रामप्रसाद रानाले बताउनुभयो ।
विभिन्न दातृ निकाय र सरकारी निकायमा तटबन्ध निर्माण गरी नदीको धार परिवर्तन गर्न माग गरे पनि सुनुवाइ हुन नसकेको मुक्त कमैयाका अगुवा रानाको भनाइ छ । नदीले जग्गा कटान गरी बगाएपछि यस क्षेत्रमा बसोबास गर्दै आएका ३० भन्दा बढी परिवार पूर्ण रुपमा विस्थापन भएपछि अन्यत्र पुनः स्थापना गरिएको छ ।
प्रतिक्रिया