फोहोरलाई शून्यमा झार्ने महिला अभियान

इनेप्लिज २०७२ साउन २० गते २:४० मा प्रकाशित

इलाम, २० साउन । इलामका गृहिणी भान्साबाट निस्कने फोहोरमैलालाई शून्य बनाउने अभियानमा जुटेका छन् ।

इलाम नगरपालिका कार्यालयले सञ्चालन गरेको हरितनगर अभियानलाई सहयोग पुर्‍याउँदै हरित नगर महिला समूहमा आबद्ध महिला फोहोर शून्य बनाउने अभियानमा जुटेका हुन् । फोहोर उत्पादन हुने घरको भान्साबाटै फोहोरलाई शून्यमा झार्न सकेमा फोहोर नै नहुने भन्दै महिला यस्तो अभियानमा जुटेका हुन् । शून्य फोहोरका लागि प्राविधिक ज्ञान दिलाउन वातावरण क्षेत्रमा क्रियाशील नामसालिङ सामुदायिक विकास केन्द्र इलामले तालिम दिएको छ ।

फोहोर शून्य बनाउनका लागि महिला समूहले ‘एक घर, एक फूलबारी’को अवधारणासमेत अघि सारेका छन् । केन्द्रले भान्साबाट निस्कने फोहोरलाई छुट्याएर कम्पोस्ट मल बनाउने विधि र प्रयोगका बारेमा तालिम दिइएको सहजकर्ता योगेन्द्रमान श्रेष्ठ बताउनुहुन्छ । नगरपालिकामा दैनिक उत्पादन हुने करिब ६७ प्रतिशत जैविक फोहोर भान्साबाट मात्र उत्पादन हुने भएकाले कम्पोस्ट मल उत्पादन गरी प्रयोगमा ल्याउन सकिन्छ ।

नगरपालिका कार्यालयले भान्सामा उत्पादन हुने फोहोरलाई उचित व्यवस्थापन गर्न डस्बिन, सुइरो वितरण गर्दै आएको छ । फोहोर मैला व्यवस्थापन प्राविधिक केन्द्र काठमाडौँ र नामसालिङ सामुदायिक विकास केन्द्रसँगको सहकार्यमा नगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्दै आएको छ ।

महिलाले भान्साबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने दुई किसिमले वर्गीकरण गर्न थालेका छन् । कुहिने फोहोरलाई थुपारेर कम्पोस्ट मल बनाउने तथा नकुहिने फोहोरलाई पुनः प्रयोग विधिबाट उपयोग गर्ने गरेका छन् । भान्साबाट निस्कने कुहिने फोहोरबाट बनाइएको कम्पोस्ट मल करेसाबारी, फूलबारीमा समेत प्रयोग गरिने महिला समूहकी रीना घिमिरेले बताउनुभयो । यस्ता फोहोरको व्यवस्थापन गरेमा वातावरणसमेत स्वच्छ हुने र गृहिणीको स्वास्थ्यमा समेत सुधार आउने महिला समूहले जनाएको छ ।

प्रतिक्रिया