उत्पीडित समुदायको जीवनमा परिवर्तन ल्याउने संविधान चाहियो: नेता नेपाल

इनेप्लिज २०७२ साउन १९ गते १४:१९ मा प्रकाशित

madhav-kumar-nepalकाठमाडौँ, १९ साउन । नेकपा(एमाले)का नेता माधवकुमार नेपालले उत्पीडनमा परेका दलित तथा महिला समुदायको जीवनमा वास्तविक परिवर्तन ल्याउने संविधान बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

भगत सर्वजीत स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘नयाँ संविधान र दलित अधिकार’ विषयको अन्तरसंवाद कार्यक्रममा नेता नेपालले दलित समुदायले उठाएका माग जायज भएको बताउँदै संवैधानिक रुपमा नै दलितका अधिकारलाई सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

आफ्ना अधिकारलाई संविधानमा समावेश गर्नुपर्ने भन्दै गरेको धर्ना कार्यक्रममा दलित समुदायमाथि भएको हस्तक्षेपप्रति दुःख व्यक्त गर्दै पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “समाजमा सबैभन्दा बढी प्रताडित समुदायका माग पूरा गर्नुका साटो धरपकड गरिनु राम्रो हैन ।”

एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले मस्यौदा संविधानमा नपरेका विषयलाई अझै समेट्न सकिने बताउनुभयो ।

एमाले सभासद् जितु गौतम, एमाओवादीका पोलिटब्युरो सदस्य विश्वभक्त दुलाल, दलित अधिकारकर्मी पदम सुन्दास, डा निर्मलकुमार विश्वकर्मा, एकराज विश्वकर्मालगायतले दलितमैत्री संविधान जारी हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया