एमाओवादीद्वारा संसद् बैठक बहिष्कार

इनेप्लिज २०७२ साउन १९ गते १२:४१ मा प्रकाशित

काठमाडौँ, १९ साउन । प्रमुख प्रतिपक्षी एकीकृत नेकपा(माओवादी)ले आज दोस्रो दिन पनि व्यवस्थापिका–संसद््को बैठक बहिष्कार गरेको छ ।

सभामुख सुवास नेम्वाङले ‘विनियोजन विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेबित्तिकै सो दलका प्रभु साहले भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत दिन बजेट केन्द्रित गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

शान्ति सम्झौतासँग जोडिएका कतिपय विषयमा समेत सरकार गम्भीर नभएको, भूकम्प तथा बाढी पहिरोपीडितलाई राहत तथा पुनःस्थापना गर्नेतर्फ कुनै पनि पहल नगरिएको, युवालाई रोजगारी दिनेतर्फ कुनै पहल नभएको र केही समय पहिले सदनको विशेष बैठकले पारित गरेको कार्यसूचीसमेत समावेश नगरिएको उहाँको भनाइ छ ।

उहाँले सत्तारुढ दलको महाधिवेशनलाई केन्द्रित गरेर गरेर बजेट ल्याइएको, एउटै निर्वाचन क्षेत्रमा दर्जनौँ योजना राखिएको तर अन्य जिल्लामा कुनै पनि बजेट नपारिएको र अपारदर्शी ढङ्गले बजेट परिचालन गरिएको आरोप लगाउँदै बैठक बहिष्कार गरिएको बताउनुभयो ।

सभामुखले प्रतिपक्षी दलले बैठक बहिष्कार गरेको अवस्थामा सदन चलाउन नमिल्ने जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो । व्यवस्थापिका–संसद््को अर्को बैठक यही साउन २० गते अपराह्न ३ बजे बस्नेछ ।

प्रतिक्रिया