प्रहरी हबल्दारको प्रशंसनीय कार्य

इनेप्लिज २०७२ साउन १९ गते १२:३० मा प्रकाशित

11816882_1631895433724958_2879655562306896640_nकाँकडभिट्टा (झापा), १९ साउन । एक्लो प्रहरीले पनि आफ्नो क्षमता र सीप प्रयोग गर्दा समाजको मुहार बदल्न सक्दो रहेछ भन्ने उदाहरण भएका छन् झापाका ट्राफिक प्रहरी हबल्दार योगेन्द्र थापा ।

झापाको मेचीनगर–१ स्थित धुलाबारी चोक दुई महिनाअघि सम्म साँघुरो, फोहोर र अस्तव्यस्त थियो । धुलाबारी ट्राफिक बिट सम्हाल्न आएका हबल्दार थापाले छोटो समयमै चोकको मुहार बदलेका छन् ।

सधँैभरि दलका पुराना झन्डा र पोस्टरले फोहोर भइरहने चोकको आइल्यान्ड अहिले फूलैफूलले उजेलिएको छ । फूलमा पानी हाल्नेदेखि जेब्रा क्रसिङ बनाउने काम उनी आफैँ गर्छन् । फुटपाथका व्यापारी, रिक्सा र ट्याक्सीलाई अलग्गै ठाउँमा व्यवस्थित गरेर राजमार्गलाई फराकिलो उनैले बनाएका हुन् ।

धुलाबारी जेसिजका अध्यक्ष ऋषि तिम्सिना हबल्दार थापाको एक्लो पौरखले धुलाबारीको ट्राफिक व्यवस्थापन कायापलट भएको बताउनुहुन्छ । उनै थापालाई मेची उद्योेग वाणिज्य सङ्घ र मेचीनगर नगरपालिकाले सोमबार १० हजार रुपैयाँ नगद, कदरपत्र र दोसल्लासहित सम्मान गरेको छ ।

सङ्घको सभाहलमा आयोजित सम्मान कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल र जिल्लाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सम्मानित हबल्दार थापालाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया