लगानी अनुकूल स्थिति बनेकाले शान्ति र स्थिरता खल्बलिने काम नगरौँ: प्रधानमन्त्री

इनेप्लिज २०७२ साउन १८ गते १३:४५ मा प्रकाशित

PM After High Level Political Dialogue meetingमैनामैनी (उदयपुर), १८ साउन । प्रधानमन्त्री सुशील कोइरालाले विधिको शासन पद्धति स्थापित गर्दै राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउन शीघ्र लोकतान्त्रिक संविधान जारी गर्न राजनीतिक दलहरु लागिपरेका स्पष्ट गर्नुभएको छ ।

आज यहाँ कोसी पुलको उद्घाटनपछि प्रधानमन्त्री कोइरालाले पूर्वाञ्चलको विकासका निम्ति मेरुदण्डका रुपमा रहेको कोसी पुलबाट सामाजिक, आर्थिक र पर्यटकीय क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकको विकास निर्माणका लागि वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँद उहाँले भन्नुभयो – “जनताका इच्छा आकाङ्क्षा पूरा गर्न र देशलाई आर्थिक समृद्धिको बाटोमा डो¥याउन पुलजस्ता भौतिक पूर्वाधार निर्माणमा सरकार केन्द्रित रहेको छ ।”

अशान्ति, अस्थिरता र अराजकताले देश विकासको गतिलाई अवरुद्ध पारेकामा सम्पूर्ण नेपाली जनता चिन्तित रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

कृषि, पर्यटन र जलस्रोतको विकासबाटै मुलुक उन्नतिको दिशामा अघि बढ्न सक्ने बताउँदै उहाँले भन्नुभयो – “अब शान्ति, स्थायित्व र राष्ट्रिय एकताका निम्ति सम्पूर्ण नेपाली जनता र राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्छ ।”

“नेपालको पछिल्लो स्थितिबाट लगानीकर्ताहरु उत्साहित भएका र पर्याप्त लगानी गर्ने स्थिति बनेकाले शान्ति र स्थिरता खल्बलिने कुनै कार्य अब हामीले गर्नु हुँदैन” – प्रधानमन्त्री कोइरालाले भन्नुभयो ।

उहाँले भन्नुभयो – लोकतान्त्रिक परिपाटी दिगो भएपछि विकासले पनि गति लिन्छ । विकासलाई नै केन्द्रमा राखेर बनाइएको नयाँ संविधान पनि चाँडै आउँदैछ ।”

अब बन्ने संविधानले महिला, जनजाति, दलित, आदिवासी, पिछडावर्ग, मुसलमानलगायतको हकहित सुनिश्चित गर्ने स्पष्ट गर्दै उहाँले संविधान च्यात्ने र सङ्घर्षमा उत्रने कामले मुलुकलाई अझै पछाडि धकेल्ने बताउनुभयो ।

प्रतिक्रिया