नगरपालिकामा गाभ्ने निर्णयप्रति स्थानीयवासीको असहमति

इनेप्लिज २०७२ साउन १८ गते १३:३७ मा प्रकाशित

काँकडभिट्टा (झापा), १८ साउन । झापाको दुहागढी गाविसलाई मेचीनगर नगरपालिकामा गाभ्ने निर्णयप्रति स्थानीयवासीले असहमति जाहेर गरेका छन् ।

आज गाविसमा सम्पन्न सर्वदलीय बैठकले यो जनभावना विपरीत भएको भन्दै यस्तो निर्णय गरेको गाविस सचिव कविन्द्रविक्रम नेम्वाङले जानकारी दिनुभयो ।

मेचीनगर नगरपालिकाले आफ्नो क्षेत्र विस्तार गरी उपमहानगरपालिका बनाउने उद्देश्यका साथ नगरपालिकासँग जोडिएका सबै गाविसलाई पत्राचार गरी राय सुझाव माग गरेको थियो ।

यसअघि ज्यामिरगढी गाविसलाई मेचीनगर नगरपालिकामा गाभ्ने सहमति बदर गर्न एकीकृत नेकपा (माओवादी), राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम, नेपाल सद्भावना पार्टी र सद्भावना पार्टी नेपालले जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया