पशुपतिका दर्शनार्थीमा जीर्ण भवनको भय

इनेप्लिज २०७२ साउन १८ गते १:४६ मा प्रकाशित

shivaratri4काठमाडौँ, १८ साउन । साउन महिनाको अवसर पारेर पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने दर्शनार्थी भूकम्पले जीर्ण भवनका संरचनाका कारण भयभीत हुनुपरेको गुनासो गर्छन् ।

वैशाख १२ र २९ गतेको भूकम्प एवम् पटकपटकका परकम्पले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथको मूल मन्दिरमा क्षति नभए पनि वरिपरिका पुरातात्विक, सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मन्दिर, सत्तल एवम् पाटी पौवा चर्किएर जीर्ण बनेपछि भक्तजन भयभीत हुन थालेका हुन् ।

पश्चिमपट्टिको मूल प्रवेशद्वारमै रहेका महास्नानघर र गुरुज्यू सत्तल भूकम्पले चिराचिरा परी भत्किने अवस्थामा पुग्दा पूजाआजा एवम् दर्शनका लागि लाममा बस्न डर लाग्ने गरेको दर्शनार्थी रेणुका दवाडीले बताउनुभयो ।

“साउन महिनाको विशेषगरी सोमबार पूजाआजा एवम् दर्शनका लागि पशुपति आउँछौँ, यी दिन भीड हुने भएकाले लाममा नबसी हुँदैन मूल प्रवेशद्वारमै रहेको दुई भवनमा ठूला चिरा देखिँदा लाममा बसेका बेला भवन भत्किएर थिच्ला भनी डराउनुपरेको छ”–उहाँले भन्नुभयो ।

दर्शनार्थीको धेरै भीड लाग्ने समयमा पनि पशुपति क्षेत्र विकास कोषले जीर्ण संरचनाको व्यवस्थापन नगर्दा भक्तजनमा त्रास बढेको दर्शनका लागि सुदूरपश्चिमबाट आउनुभएका भक्तराम जोशीले गुनासो गर्नुभयो ।

महास्नानघर जीर्ण बनेपछि माथिल्लो तलामा कार्यालय रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिसमेत हटेको छ । पशुपति ठूलो तीर्थ भइकन पनि बाहिर सुने जस्तो नपाइएको एक महिनाअघि पशुपति प्रहरी पोस्टमा सरुवा भई आउनुभएका हवल्दार चन्द्र घर्तीले अनुभव सुनाउनुभयो ।

कोषका सदस्य सचिव डा गोविन्द टण्डन जीर्ण भवन भत्काउन नेपाल प्रहरी र नेपाली सेनाको समूह आउँदा सहरी विकास तथा भवन निर्माण विभागको अनुमति बिना ऐतिहासिक जीर्ण भवन भत्काउन नपाइने निर्णय भएको भन्ने सुनेकाले रोकिएको बताउनुहन्छ ।

“विभागको पत्र पनि आएको छैन, सुनेकै आधारमा जीर्ण भवन भत्काउन रोकिएको छ, महास्नान घरको झ्याल र गुरुज्यू सत्तल बढी जोखिममा छ, यिनको भवन भत्किए पनि लाममा बसेका मानिसलाई असर नगर्ने गरी असुरक्षित स्थानमा डोरी टाँगी जान निषेध गरिएको छ”–उहाँले भन्नुभयो ।

प्रतिक्रिया