चुलिँदो व्यापार घाटा कम गर्न उत्पादनमा जोड

इनेप्लिज २०७२ साउन १७ गते ११:१७ मा प्रकाशित

ramsaran-mahatकाठमाडौँ, १७ साउन । अर्थमन्त्री डा रामशरण महतले उत्पादन वृद्धि नभएसम्म आयात नघट्ने बताउनुभएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सिहंदरबारमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले आयातलाई प्रतिस्थापन नगरेसम्म निर्यात नबढ्ने र व्यापार घाटासमेत नघट्ने उल्लेख गर्नु भयो ।

आर्थिक वर्ष २०७१/७२ को प्रथम ११ महिनामा रु सात खर्ब २२ अर्ब ७८ करोडको आयात र रु ७८ अर्बको वस्तु निर्यात भएको छ ।

नेपालको व्यापार घाटाको तीन कारण पेट्रोलियम पदार्थ, कृषि र अनुत्पादक वस्तुको आयात नै मुख्य हो । पेट्रोलियम पदार्थअन्तर्गत डिजल, मट्टितेल, पेट्रोल, इन्भर्टर, जेनेरेटर, कृषि क्षेत्रमा चामल, तेल, गहुँ, मकै, मासु र अनुत्पादक क्षेत्रमा सुन, चाँदी, अल्कोहल आदि क्षेत्रको आयातले मात्र कुल व्यापार घाटामा ५० प्रतिशत असर परेको छ ।

यस वर्ष चामल करिब रु २२ अर्ब र मासु रु १६ अर्बको आयात भइसकेको छ । कार्यक्रममा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले आयातलाई प्रतिस्थापन गर्न निर्यात गर्न सकिने क्षेत्र ऊर्जा, कृषि, सिमेन्ट उद्योग र खेर गइरहेको वस्तुको उपयोगिता नै प्रमुख कारण भएको जानकारी दिनुभयो ।

एकातिर विप्रेषणबाट प्राप्त रकम बैंकमा जम्मा भएको, वित्तीय क्षेत्रमा तरलता (लगानी योग्य रकम) थुप्रिएको र पूर्वाधार निर्माणमा ढिलासुस्ती तथा ऊर्जा क्षेत्रमा विनियोजन गरिएको रकम खर्च हुन नसक्नु नै व्यापार घाटाको प्रमुख कारण भएको विभिन्न मन्त्रालयका सचिवहरुले कार्यक्रममा औँल्याएका छन् ।

‘नेपालको व्यापार घाटाको हालको अवस्था र न्यूनीकरण’ विषयक छलफल कार्यक्रममा वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले बन्द उद्योगहरुको सञ्चालन, स्थानीय बजारको माग अनुरुपको उत्पादनमा जोड, निर्यातजन्य उद्योगको स्थापना, बजारको पहुँच विस्तारमा जोड र गरिब घरपरिवारलाई उत्पादनमा आकर्षित गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्नु भयो ।

वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीले उत्पादन कम, आम्दानीमा वृद्धि, उत्पादकत्व क्षमतामा ह्रास भएका कारण निर्यात हुन नसकेको उल्लेख गर्दै ठूला लगानीलाई आकर्षित गर्नु नै आजको मुख्य आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो ।

चुलिँदो व्यापार घाटा कम गर्न के गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम गरिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नइन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया