अपाङ्गमैत्री टहरो

इनेप्लिज २०७२ साउन १७ गते २:१४ मा प्रकाशित

गजुरी (धादिङ), १७ साउन । भूकम्प र त्यसपछिको परकम्पनबाट धनजनको क्षति भएको कल्लेरी गाविस वडा नं २ सुनटारका अपाङ्गता भएकाहरुलाई लक्ष्य गरेर ‘घरेलु तथा साना उद्योग तथा घरेलु विकास समिति’ धादिङले अपाङ्गमैत्री टहरो निर्माण गरेको छ ।

सुनटारमा सञ्चालित डकर्मी तथा सिकर्मी तालिमका क्रममा अपाङ्गमैत्री टहरोको निर्माण गरिएको समितिका वरिष्ठ उद्योग अधिकृत विजयकुमार भट्टराईले जानकारी दिनुभयो । सहभागीले एक महिनाको तालिमपछि अपाङ्गता भएकाहरुको घर निर्माण गरिदिएका हुन् ।

भूकम्पले बस्दै आएको घर भत्किएपछि घर न घाट भएको सुनटारका अपाङ्गता भएकाहरु घरेलुले टहरो निर्माण गरिदिएपछि खुसी भएका छन् । “म त टहरो बनाउन सक्दिन थिएँ, आफ्नो हातगोडा पनि चल्दैन, भूकम्पपछि कैयौँ रात आकाशमुनि नै रात बिताएँ, अब मजासँग निदाउन सक्छु”, तेज गिरीले भन्नुभयो ।

प्रतिक्रिया