पर्यटकीय गाउँ प्लास्टिक मुक्त

इनेप्लिज २०७२ साउन १७ गते १:२९ मा प्रकाशित

Ban-Plastic-300x180म्याग्दी, १७ साउन । यहाँका पर्यटकीय गाउँलाई प्लास्टिक मुक्त क्षेत्र बनाउने अभियान थालिएको छ ।

दीर्घकालसम्म मानव स्वास्थ्य र वातावरणलाई प्रभाव पार्ने भएकाले स्थानीय पर्यटन व्यवसायीको अग्रसरतामा नागी, टिकोट, खिवाङ, शिख, घार, पाउद्वार र नारच्याङ गाउँ प्लास्टिक मुक्त क्षेत्र बनेका हुन् । साथै अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्या–पदमार्गअन्तर्गत पर्वतका बाँसखर्क र डाँडाकटेरी गाउँलाई पनि प्लास्टिक मुक्त क्षेत्र बनाइएको पदमार्ग व्यवस्थापन समितिका संयोजक चित्र तिलिजाले जानकारी दिनुभयो ।

पर्वतका दुई र म्याग्दीका सात गाविसलाई समेटिएको पदमार्गअन्तर्गत लामो तथा छोटो गरी दुई मार्ग बनाइएको छ । पर्यटकीय क्षेत्रमा मिनिरल वाटरको बोतलको प्रयोग धेरै हुने भए पनि यी गाउँमा त्यसको प्रयोग कम हुँदै गएको बताइएको छ । “सन् २०११ को अन्तिम मौसमबाट हामीले यो पदमार्ग सञ्चालन ल्याएका थियौँ, त्यतिबेला नारच्याङ, पाउद्वार, घोरेपानी र शिख क्षेत्रमा प्लास्टिकको प्रयोग खासै हुँदैनथ्यो”, तिलिजाले भन्नुभयो, “त्यसपछि हामी कडाइका साथ अघि बढेपछि अहिले सबै क्षेत्रमा प्लास्टिक निषेधित छ ।”

म्यागासेसे पुरस्कार विजेता महावीर पुनको सक्रियतामा सञ्चालनमा ल्याइएको उक्त पदमार्गले म्याग्दीका पुराना र नयाँ पर्यटकीय गाउँलाई समेटेको छ । अहिले पर्यटकलाई पानीको व्यवस्था मिलाउन हरेक गाउँको सामुदायिक भवनमा फिल्टरको व्यवस्था गरिएकाले पर्यटकले त्यसैमा राखेको पानी प्रयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया